प्रचण्डको भनाइ– ‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो।’

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन्। शनिबार बिहान चितवनमा आयोचित सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले भने– ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो।’

उनले कर र मूल्यवृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महसुस गरेको र त्यसलाई सम्बोधन गर्ने उपायहरुको खोजी भइरहेको जानकारी दिए। यसप्रति पार्टी र सरकार गम्भीर रहेको पनि उनको भनाइ थियो।

प्रचण्डले आफ्ना कामहरुलाई सरकारले बेलाबेलामा समीक्षा गर्दै र जनअनुमोदनलाई सम्बोधन गर्दै गएको बताए।

‘वामपन्थी सरकारको सबैसँग संवाद, सहकार्य र सहमति गर्ने उद्देश्य हो। सरकारले सुशासन र विकासलाई मुख्य नारा बनाएको छ’, प्रचण्डले भने, ‘यो अवस्थामा अरु कुनै वितण्डता तिर लैजानु भन्दा सबै पक्ष खुलस्त ढंगले संवाद, वार्ता र सहमति गर्नेतिर आउनु पर्‍यो। वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साहै्र ठूलो अज्ञानता बाहेक केही पनि हुन्न।’

चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्षले भने– ‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो। भारत र चीन जाँदा विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुवै छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा मेरो भ्रमण केन्द्रीत हुन्छ।’

प्रतिक्रिया दिनुहोस्