प्रधानमन्त्री ओलीले राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरलाई भेट्न दिएनन्
काठमाडौं, २५ श्रावण । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्रीसँग चिढिएका छन् । उनले गत मंगलबार प्रधानमन्त्रीलाई भेटर सरकारले आफूलाई बेवास्ता गरेको, माग सुनवाइ नगरेको लगायतका गुनासो ब्यक्त गरेका थिए । संयोजक महन्थले सोमबार नै प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए । सोमवार प्रधानमन्त्री ओलीले समय नदिएपछि मंगलबार प्रधानमन्त्रीलाई भेट्न एक्लै प्रधानमन्त्री निवास बालुवाटार पुगेर केहीबेर उनले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।
त्यसको भोलिपल्ट उनले अध्यक्षमण्डलको बैठक बोलाएका थिए । बैठकले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, सांसदमा निर्वाचित रेशम चौधरीको सपथ गराउन र संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो । बैठकपछि बुधवार नै अध्यक्षमण्डलका सदस्यहरूले प्रधानमन्त्रीलाई भेटी आफ्ना माग पूरा गराउन दबाब दिने कार्यक्रम तय गरेका थिए । यसका लागि उनीहरूले प्रधानमन्त्रीसँग समय पनि मागेका थिए तर प्रधानमन्त्रीले बुधबार समय दिएनन्। बिहीबार समय दिने आश्वासन प्रधानमन्त्रीका सहयोगीले नेताहरूलाई दिएका थिए तर बिहीबार पनि उनले समय दिएनन् ।
प्रधानमन्त्रीले शनिबार मात्र समय दिने आश्वासन दिएको राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए । उनले भने, ‘प्रधानमन्त्रीको सचिबालयले शनिवार समय दिने जनाएतापनि प्रधानमन्त्रीलाई भेट्ने,नभेट्ने निश्चित नभएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्