नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही हुने
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ। सो कार्यालय एकताअघि नेकपा एमालेको केन्द्रीय कार्यालय थियो।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकले पूर्व माओवादीको पार्टी कार्यालय रहेको पेरिसडाँडाको भवनलाई भने जनवर्गीय संगठनहरुको कार्यालय बनाउने निर्णय गरेको हो।
गत जेठ ३ गते एमाले र माओवादीबीच एकता भएपछि दुवै कार्यालय समान रुपमा प्रयोग हुँदै आएको थियो।
सचिवालय बैठकमा जिल्ला र प्रदेशमा पार्टी एकिरकरण भाद्र ५ सम्म टुङ्ग्याउन दिइएको सर्कुलरका विषयमा पनि छलफल भएको थियो।
निर्वाचनपछि पदको ओहदामा रहेका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको कार्यकारी पद नदिने निर्णय सचिवालय बैठकले गरेको छ।
संघ र प्रदेशका मन्त्रीहरुले पार्टीको कार्यकारी पद नपाउने भएका छन्। प्रादेशिक दलका नेता र उपनेता तथा प्रमुख सचेतक र सचेतकलाई पनि जिम्मेवारी नदिइने भएको छ। संसदीय समितिका सभापति, मेयर/उपमेयरहरु, जिल्ला समन्वय समितिका सभापति/उपसभापति र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले पनि पार्टीको कार्यकारी पद नपाउने भएका छन्।
सरकारी भूमिकामा रहेर काम गरिरहेका नेता तथा कार्यकर्ता पार्टीको अध्यक्ष र सचिव पदको जिम्मेवारी नदिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्