महानगरमा किचलो, जनप्रतिनिधिहरुबीच धुव्रीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु बीच धु्रवीकरण हुँदा भाँडभैलो मच्चिएको छ । गत बुधबार बोलाइएको नगर कार्यापालिका बैठक प्रतिनिधिहरु बीचको तीव्र विवादले गर्दा बस्न सकेन । महानगरका निर्णयहरू कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ । बुधबारलाई कार्यपालिकाको बैठक राखिएको थियो । निर्वाचित प्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुगेपनि नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधि दुई धुव्रमा बाडिँदा महानगरको कार्यसम्पादन खासै उपलब्धि हुन सकेको छैन ।

दुई पार्टीबीच किचलो बढेपछि बुधबार बोलाइएको नगर कार्यापालिका बैठक पनि बस्न सकेन । बिहान ८ बजे बोलाइएको बैठक ११ बजेसम्म हुन नसकेपछि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू मात्रै बसेर बैठक गरेको स्रोतले जानकारी दियो ।

मेयर शाक्यले जनमुखी एजेन्डा नल्याएको भन्दै कांग्रेसका जनप्रतिनिधिहरू बैठकमा सामेल नभएका हुन। ‘कार्यपालिकाको बैठकका निर्णय होस् वा अन्य निर्णय मेयर शाक्यले एक्लै गर्दै आउनु भएको छ । पटक पटक त्यसो नगर्नुस् भन्दा पनि अटेर गरेपछि आजचाँही बैठक नै बहिष्कार गरेका हौं,’ उपमेयर खड्गीले भनिन् । कांग्रेसका जनप्रतिनिधि मेयर शाक्यले नरुचाएको उनको भनाइ छ । ‘कि हाम्रो पनि अजेन्डा समावेश गरी सहमति जुटाउनुप¥यो कि त्यसो गर्ने कानुनी अधिकार छैन भन्नु प¥यो,’ उनले भनिन्, ‘त्यसो हो भने हामी अधिकार खोज्न जान्छौं ।’

यसअघि पनि मेयरले एकलौटी निर्णय गरेको भन्दै कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि रुष्ट थिए । उपमेयर खड्गीलाई कुनै जानकारी नगरी कर्मचारीको सरुवा गरिएपछि साताअघि मेयर उपमेयरको बोलचालै बन्द भएको थियो ।

यस पटकको बैठकमा पनि मेयर शाक्यले ल्याएका कुनै अजेन्डा पनि जनमुखी नभएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भनाइ छ । स्रोतका अनुसार मेयर शाक्यले सडकको नाम परिवर्तन, नगर प्रहरीको खाजा खर्च वृद्धि, कर्मचारी करारमा थप, करारका कर्मचारीको समयवधि थप, आर्थिक सहायता, कर्मचारीको सेवासुविधाको पुनरालोकन, बागदरवारको पुनर्निर्माण, विदेश भ्रमणको जानकारी गराउने लगायतका अजेन्डा अघि सारेका थिए ।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने सामान्य असहमतिको कारणले बैठकमा सामान्य प्रभावित भएको बताए । बैठक बहिष्कार भने पनि धेरै कांग्रेस जनप्रतिनिधिले हाजिर गरेको उनले जानकारी दिए ।

मेयर शाक्यले चुनावी समयमा एक सय दिनमा एक सय एक काम गर्ने प्रतिवद्धता गरेपनि सामान्य काम समेत हुन नसकेको भन्दै सामाजिक सञ्जालमा मेयर शाक्यको टिप्पणी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्