सरकारविरुद्ध संघर्षको तयारीमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाललाई अगाडि बढाउँदै सरकारविरुद्ध संघर्षका कार्यक्रम चलाउने तयारी थालेको छ।
महंगी, भ्रष्टाचार, उत्पीडन, अन्याय, अत्याचार, बलात्कार, हिंसालगायतका विषयहरुलाई उठान गर्दै संघर्ष सञ्चालन गर्ने तयारी गरेको छ। क्रान्तिकारी माओवादीले तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ।
उसले स्थानीय स्तरमा त्यहाँको बस्तुस्थिती अनुसार संघर्षको कार्यक्रम तय गर्न र केन्द्रीय कमिटीमा पठाउन निर्देशन दिएको छ। ‘स्थानीय आवश्यकता वस्तुस्थितीलाई अध्ययन गरी संघर्षको कार्यक्रम तय गर्न निर्देशन दिइएको छ,’ क्रान्तिकारी माओवादीका एक नेताले भने। जसअन्तर्गत संघर्षको कार्यक्रम तय भइरहेको उनले जानकारी दिए।
क्रान्तिकारी माओवादीले संघर्षलाई उठान गर्नका लागि जिल्ला र प्रदेश स्तरबाट संघर्षलाई अगाडि बढाउने निर्णयसमेत लिएको छ। क्रान्तिकारी माओवादीको असार दोस्रो हप्ता राजधानीमा भएको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गर्दै सोही अनुरुप तल्ला तहमा संघर्ष सञ्चालन गर्न निर्देशन दिएको हो।
क्रान्तिकारी माओवादी आफ्ना भातृ संगठनहरुलाई आफ्ना चासो तथा मागहरुलाई सम्बोधन गर्ने गरी संघर्षलाई अगाडि बढाउन समेत निर्देशन दिएको हो। यसरी जिल्ला स्तर र जनवर्गीय संगठनहरुले तयार गर्ने संघर्षको कार्यक्रमसहित केन्द्रमा संघर्षको कार्यक्रम तय गरिने समेत क्रान्तिकारी माओवादीका एक नेताले जानकारी दिए। यसरी संघर्षको कार्यक्रम तय गर्ने जिम्मेवारी स्थायी समितिलाई दिइएको छ।
संघर्षका कार्यक्रम अन्तर्गत क्रान्तिकारी माओवादीले सातै प्रदेशका प्रदेश सरकारलाई वेरोजगारी समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउँदै संघर्ष थाल्न समेत निर्देशन दिएको छ। जसअन्तर्गत वेरोजगारी रोजगार वा वेरोजगार भत्ताको माग गर्दै युवाहरुले सातै प्रदेशमा संघर्षको कार्यक्रम तय गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्