प्रधानमन्त्रीको भनाइ- उपभोक्तावादी चिन्तनले ब्यापार घाटा बढ्यो: तकाल समाधान गरिन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यापार घाटा बढ्नुको मुख्य कारण नेपालीहरुमा बढ्दो उपभोक्तावादी चिन्तन भएको बताएका छन् । साथै नेपाल भारत व्यापारमा भएको समस्या तकाल समाधान गरिने बताएका छन् ।
शनिबार मोरङका उद्योगी व्यवसायीहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको बताए । ‘विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन लगाएकै छन् । अत्याधुनिक खाना पनि खाएकै छन्’ उनले भने, ‘तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्ने्तिर हाम्रो ध्यान छैन । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।’
उनले नेपाल र भारतबीच व्यापारमा देखिएका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली भारत पठाउने लागिएको जानकारी दिए ।
नेपालमा हुने विमस्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यसबारे कुरा गर्ने उनले बताए । ‘विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि व्यापार समस्या समधानका लागि हामी कुरा गर्छौं’ उनले भने ।
प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिले नेपालको परिचय बदल्नुपर्नेमा जोड दिएका छन् ।
व्यावसायीहरुले कर वृद्धिको बिषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस बिषयमा आफूले थप जानकारी लिने तर, दोहोरो करको व्यवस्था चाँही हटाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्