लक्जेम्बर्गमा परराष्ट्रमन्त्री ज्ञवाली : नेपालको छवि विश्वसामु उच्च राख्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकास प्रयासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनीहरुलाई मातृभूमिको समृद्धि र प्रगतिमा योगदान गर्न आह्वान गरेका छन ।

तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहेका मन्त्री ज्ञवालीले आईतबार लक्जेम्बर्गमा आयोजित एघारौँ युरोपेली क्षेत्रीय बैठक तथा गैरआवासीय नेपाली संघको नवौँ युरोपेली क्षेत्रीय महिला भेलामा नेपालको छवि विश्वसामु उच्च राख्न आग्रह गरे ।

उनले विदेशमा रहेका नेपालीलाई एकजुट गर्न संघले निर्वाह गरेको भूमिकाको सराहना गर्दै नेपाल सरकारले देशको विकासका लागि प्राथमिकता निर्धारण गरेका क्षेत्रबारे जानकारी दिएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।

राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयक प्रवचनमा उहाँले अहिलेको सरकारको प्राथमिकता र नीति नेपालको सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित भएको बताए ।

यसैबीच मन्त्री ज्ञवालीले शनिबार युरोपका नौ देशमा रहेका नेपाली राजदूतहरुलाई ब्रसेल्समा एकत्रित गरेर नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न निर्देशन दिए । उनले नेपालको शान्ति प्रक्रिया र त्यसलाई निष्कर्षमा नेपालले नै पु¥याएको उजागर गर्न आग्रह गरे ।

नेपालको विकासलाई केन्द्रमा राखेर कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक कूटनीतिलाई राष्ट्रिय हितमा गाँसेर विशेष योगदान गर्न अनुरोध गरे ।

युरेपेली संघ, युरोपेली मुलुक संयुक्त, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघ संगठनसँग नेपालको सम्बन्ध सुमधुर तुल्याउन र मुलुकका निम्ति सहायता जुटाउन गम्भीर भएर जिम्मेवारी निर्वाह गर्न मन्त्री ज्ञवालीले राजदूतहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्