मन्त्री अधिकारीको दाबि- डा गोविन्द केसी फेरि अनसन बस्नु पर्दैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसी फेरि अनसन बस्नु नपर्ने गरी सरकारले सम्झौतालाई कार्यान्वयन गर्ने बताएका छन् ।

सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहलाई शुक्रबार पोखरामा उदघाटन गर्दै उनले डा केसीसँग विगतमा धेरैपटक सरकारले सहमति गरे पनि कागजमा मात्र सीमित हुने गरेको चर्चा गरे । यो पटकको सम्झौतालाई सरकारले व्यवहारमै लागू  गर्ने उनको दावी थियो ।

मन्त्री अधिकारीले सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान गरेको हुँदा राष्ट्रको समृद्धि र विकासका लागि सरकार लागिपरेको बताए ।

उनले देशको विकास पर्यटन मार्फत हुने जिकिर गर्दै आगामी २ वर्षभित्र नेपाली जहाज १२ राष्ट्रमा पुर्‍याउने गरी काम गरेको बताए ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्न हुने उनको भनाइ थियो । उनले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

मन्त्री अधिकारीले अन्य मन्त्रालयमा भन्दा पर्यटन मन्त्रालयको काम उत्कृष्ट रहेको दावी गरे ।

उक्त अवसरमा मन्त्री अधिकारीले समाजद्वारा निर्मित सूर्यचन्द्र बाटिकाको उदघाटन गरे ।

प्रतिक्रिया दिनुहोस्