प्रधानमन्त्रीको निर्देशन–‘सरकारका कामबारे संसदमा डटेर कुरा राख्नोस्’
काठमाडौैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम–कारबाहीबारे संसदमा डटेर कुरा राख्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
नेकपा संसदीय दलको बैठकलाई शुक्रबार बालुवाटारमा सम्बोधन गर्दै उनले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने–‘शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटकाबारेमा खुलेर कुरा राख्नुपर्छ । यसले संसद र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।’
संसदमा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै उनले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै भने–‘कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नोस्, म अनुहार नहेरी कारबाही गर्छु ।’
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न आग्रह गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पुर्याउने बताए ।
बैठकमा चिकित्सक डा. गोविन्द केसी र सरकारबीच भएका ९ बुँदे सहमतिबारे जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्