कम्युनिष्टहरु मिल्दा अन्तर्राष्ट्रियरुपमा तरंगः अध्यक्ष दाहाल

काठमाडौं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरु पार्टी एक हुँदा राष्ट्रियस्तरमा मात्र सिमित नभएर अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग पैदा भएको बताउनु भएको छ ।

‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताउनुभयो ।

“जनयुद्ध शुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नआएका बताउँदै उहाँले यो विचित्रको कुरा भएको छ” उहांले बताउनु भयो । कम्युनिष्ट मिल्दा एउटा जनमत उत्साहित भएको छ, अर्को पक्ष विचलित जस्तो देख्छु ।

उहाँले अगाडि थप्नुभयो “एकातिर कम्युनिष्ट तानाशाही आउँछ भनिएको छ, अर्कोतिर तिनै साथीले कम्युनिष्ट एकता हुनै सक्दैन, भए पनि टिक्दैन चुनावपछि भाँडभैलो हुन्छ भनिरहेका छन् ।” पार्टी एकतामा शंका नगर्न आग्रह गर्दै दाहालले भन्नुभयो “अब एकतालाई कसैले रोकेर रोकिँदैन ।” जस्तोसुकै तरंग आए पनि नेपालमा वामपन्थीको सरकार आउने र त्यसलाई राष्ट्रलाई समाजवादतर्फ लैजाने उहाँको भनाइ थियो ।

बिपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिष्ट एकता देखेर खुशी हुने बताउँदै दाहालले पार्टी एक हुँदा राष्ट्रलाई फाइदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताउनुभयो ।
अहिलेको काँग्रेस बिपीको समाजवाद र गिरिजाप्रसादको गणतन्त्रको लाइनबाट थोरै विक्षिप्त भएको दाहालको भनाइ थियो । उहाँले थप्नु भयो , “बिपीको समाजवाद र गिरिजाको गणतन्त्रको लाइनबाट काँग्रेस विचलित भएर उहाँहरुले गल्ती गर्नुभयो छ ।”

राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्ने भन्दै गालीगलौज नगर्नुहोस्, भोलि पनि सहकार्य गरेर जानु पर्छ ।
चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका दाहालले राजनीतिक अनैतिकताको एउटा प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्