राष्ट्रको निकास तथा रक्षाका लागि वाम सरकार । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

काठमाडौ । पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले राष्ट्रको निकास तथा रक्षाका लागि वाम गठबन्धनको सरकार जरुरी भएको दाबी गरे ।

खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वाम सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिए ।

नेता पाण्डे एमाले स्थायी कमिटी सदस्यसमेत हुन् । उनले बिहीबार खैरहनी नगरपालिका–४ चैनपुर, स्थित शिवालयचोकमा आयोजित सभामा भन्नुभयो, “अबको निर्वाचन पछि वाम शक्तिको सरकार बन्छ, अनि देश विकास तथा निकास र समृद्धितर्फ अघि बढ्छ ।”राष्ट्रको रक्षाका लागि नै वाम एकता गरिएको उनको भनाइ थियो ।

उक्त सभामा उनले निजामती कर्मचारी विभिन्न दलको चुनाव प्रचार प्रसारमा सक्रिय रहेकामा आपत्ति पनि जनाए । सरकारको नून खाएर एउटा पार्टीको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रहसमेत गरे ।

सो कार्यक्रममा प्रदेशसभा (ख)का उम्मेदवार कृष्ण खनालले स्थानीय क्षेत्रको विकाससँगै समग्र राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । चितवन क्षेत्र नं १ को लोकतान्त्रिक गठबन्धन अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले निर्वाचन जितेर आफ्नो क्षेत्रको परिवर्तन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्