राजपा नेतालाई प्रधानमन्त्रीको आग्रह– संविधानका त्रुटीमा छलफल गरौं, तर अल्झिएर नबसौं
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका बृहत योजना बनाउने प्रस्ताव गरेका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुसँग बिहीबार साँझ बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन्।
तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले भने, ‘तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्छ।’
सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराइका जनतालाई मुक्त पार्नुपर्ने प्रधानमन्त्री ओलीको तर्क थियो। ‘यी सबै समस्या समाधानका लागि राजनीतिक रुपमा योजना बनाऔं र कार्यन्वयन गरौं।’, उनले भने। अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकोले त्यसको साटो तराईमा पनि एकिकृत बस्तीे बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराए।
भेटका क्रममा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका थिए। प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका थिए। ‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन्। त्यसमा तपाईंहरुले पनि पूनर्विचार गर्नुहोस्।’, ओलीले भने।
संविधान संसोधनका बारेमा नेताहरुले राखेका जिज्ञासामा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने बताए। उनले भने,‘संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं, तर यसैमा अल्झिएर नबसौं। देश विकासमा लागौं।’
राजपाका नेताहरुले तराइको बाढी, दुई वर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा, तराईको विकास, मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए।
छलफलका लागि राजपा नेताहरु ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राययादव, राजकिशोर यादव र केशव झा बालुवटार पुगेका थिए। नेताहरुले साँझ ८ बजे देखि प्रधानमन्त्रीसँग करिब डेढ घण्टा छलफल गरेका थिए
प्रतिक्रिया दिनुहोस्