सरकारविरुद्ध आन्दोलन गर्न थप मोर्चाबन्दीसहित अघि बढ्दै कांग्रेस !

काठमाडौं – डा. गोविन्द केसीको अनशन प्रकरणसहित सरकारका अन्य कामविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले राजपा र नयाँ शक्तिलाई गठबन्धन बनाउन आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले राजपा अध्यक्षमण्डलका सदस्य र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई छुट्टाछुट्टै भेटेर सरकारविरुद्ध गठबन्धन बनाउन आग्रह गरेका हुन्।

राजपा अध्यक्षमण्डलका सदस्य र नयाँ शक्तिका संयोजक दुवैले पुनः छलफल गरेर यस विषयमा कुराकानी अगाडि बढाउने बताएका छन्। वर्तमान सरकारलाई राजपाले समर्थन दिए पनि यससम्बद्ध सांसद भने संसद्मा प्रतिपक्षीकै बेन्चमा बस्दै आएका छन्। डा. केसीको अनशनबारे बुधबार मात्रै विज्ञप्ति जारी गर्दै राजपाले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ। नयाँ शक्तिका संयोजक डा. भट्टराईले भने ओली नेतृत्वको सरकारलाई सुरुदेखि नै आलोचना गर्दै आएका छन्।

कांग्रेसले सरकारविरुद्ध घोषणा गरेको आन्दोलनलाई बृहत् रूप दिन आफूहरू सबै पक्षसँग छलफलमा जुटेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए। ‘हामी पुनः छलफल गरेर आन्दोलनलाई सशक्त बनाउने योजनामा छाैं, उनले भने। सभापति देउवाले गरेको प्रस्तावबारे पार्टीमा छलफल गरेर कसरी अघि बढनेबारे सल्लाह हुने राजपा नेता राजेन्द्र महतोको भनाइ छ। ‘हामीले राजपाले उठाउँदै आएका मुद्दालाई समेत त्यसमा समावेश गर्न आग्रह गरेका छौं’, उनले भने।

अघिल्लो शनिबार मात्रै संसदीय दल नेता चयन गरेको राजपाभित्र वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिनुपर्ने बहस बाक्लिँदै गएको छ। गत साता बसेको राजपाको राजनीतिक समिति बैठकमा नेताहरूले अध्यक्षमण्डललाई सरकारको समर्थन फिर्ता लिन दबाब दिएका थिए।

राजपा र नयाँ शक्तिसँग संसद् भवनमा छलफल गरेपछि सञ्चारकर्मीसँग देउवाले सरकार अधिनायकवादको बाटोमा अघि बढिसकेकाले लोकतान्त्रिक शक्ति मिलेर आन्दोलनमा जानुको विकल्प नरहेको दाबी गरे। ‘बिहीबार मात्रै सरकारले जुम्लामा देखाएको व्यवहारले सबै कुरा प्रस्ट भएको छ’, उनले भने, ‘सरकारले संविधानविपरीत काम गरिरहेको छ।’

डा. गोविन्द केसीका माग सम्बोधन गर्नुको साटो उनका समर्थकलाई लाठी प्रहार गर्नु असभ्य एवं निर्लज्ज काम हो’, देउवाले भने, ‘यो घटनाको म घोर भत्र्सना गर्छु। जनतालाई लाठी र गोली हान्ने अधिकार सरकारलाई छैन। सरकार ज्यादतीमा उत्रेको छ।’

संसद् छल्ने गरी बैठकलाई ८ दिन पर सारिएको विषयलाई पनि कांग्रेसले गम्भीर रूपमा लिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कांग्रेसले डा. केसीको मागअनुसार शिक्षा विधेयक फिर्ता गरेर पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाई विधेयकका रूपमा ल्याउनुपर्ने मागसमेत गर्दै आएको छ। जुम्लामा प्रहरीद्वारा भएको बल प्रयोग र डा. केसीलाई काठमाडौं ल्याउनुलाई कांग्रेसले सरकार अधिनायकवाद उन्मुख शैलीतर्फ गएको संकेतका रूपमा बुझ्नुपर्ने कांग्रेसको भनाइ छ।

१५ गतेसम्म विरोधका कार्यक्रम घोषणा गरेको कांग्रेसले सरकारविरुद्ध थप मोर्चाबन्दीसहित अघि बढ्ने बताएको छ। यो खबर आजको अन्नपूर्णमा छ ।

प्रतिक्रिया दिनुहोस्