पौडेल-सिटौला समूह बैठक, प्रदेश संरचना निर्वाचनबाटै गरिनुपर्ने निष्कर्ष

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको प्रदेश संरचना तदर्थ समिति बनाएर नभई निर्वाचनबाटै चयन गरिनुपर्ने निष्कर्ष निकालेको छ । राजधानीको ढुंगेधारास्थित एक सहकारीमा सोमबार दिउँसो बसेकोे नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूहको बैठकले पार्टीको प्रदेश संरचना निर्वाचनबाटै तय हुनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले विधानसम्मत तरिकाबाट निर्वाचन गराएरै प्रदेश संरचना बन्नुपर्ने धारणामा सहमति भएको बताए । ‘प्रदेश संरचना विधानसंगत तरिकाबाट निर्वाचनमार्फत नै चयन गरिनुपर्छ भन्ने बैठकमा धेरैको राय आएको छ । विधानसम्मत जाने कुरामा हामी सहमत छौं ।

विधानविपरीत कुनै विषयमा सहमत हुन सकिँदैन,’ नेता केसीले राजधानीसँग भने ।  स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेललाई प्रदेश संरचनाका लागि तत्काल तदर्थ समिति बनाएर जान प्रस्ताव गरेपछि नेता पौडेलले आफ्नोसहित सिटौला समूहका नेतालाई बैठकमा डाकेका थिए ।

देउवाले प्रदेश संरचनाका लागि आफूले चार र पौडेललाई तीन प्रदेशको नेतृत्व दिने भन्दै प्रस्ताव गरेको स्रोतले बताएको छ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिका लागि समेत सभापति देउवाले नाम मागेको भन्दै नेता पौडेलले सो विषय प्रवेश गराए ।

देउवाले विधान समितिका लागि नाम मागे पनि कति जनाको नाम दिने भन्नेमा पौडेल अलमलमा रहेपछि सोबारे टुंगो लगाएर मात्रै निर्णय गर्ने बताइएको छ । सम्भवतः विधान समिति ७ देखि ९ सदस्यीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्