अनसनरत डाक्टर केसीलाई वार्तामा आउन (नेकपा)का नेता भट्टराईको आग्रह
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डाक्टर गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । नेता भट्टराईले डाक्टर केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै सधै तयार रहेको बताए ।
उनले हरेक पटकको अनसन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै केसीको अनसनको उद्देश्य नै शंकास्पद रहेको बताए । बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भट्टराईले डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न समेत आग्रह गरे ।
नेता भट्टराईले जनताको शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाण्डौ कहिले जुम्ला पुगेर अनशन बस्न नपर्ने पनि बताए । उनले गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार रहेको बताए ।
उनले जायज मागलाई सकारात्मक रुपमा लिन सकिने भएपनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोपसमेत लगाए । भट्टराईले फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो भन्दै उनले देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने र मनमोहनसँग के दुश्मनी छ र भन्दै प्रश्न समेत गरे ।
नेता भट्टराईले भने, ‘मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरु चाँही राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाँही माफिया रे’ अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको भनाई रहेको छ ।
संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने पनि भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्