संसदीय सुनुवाइ समितिद्वारा तीन सदस्यीय उपसमिति गठन

काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिको बैठकका लागि कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकले कार्य विधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका योगेश भट्टराई र शिवकुमार मण्डल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी पुष्पा भुसाल सहित ३ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिलाई बुधबारसम्म कार्र्यविधि तय गर्ने कार्यादेश दिइएको छ । संसदीय सुनुवाई विशेष समितिका लागि प्रतिनिधिसभाले सोमबार सदस्य स्वीकृत गरेको थियो । संघीय संसदको सार्वजनिक सुनुवाई विशेष समितिमा १५ सदस्य रहने व्यवस्था छ ।

समितिमा प्रतिनिधिसभाबाट योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल, अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्, भने राष्ट्रियसभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्र देव सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्