कांग्रेस छाड्ने नेता गच्छदारको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् ।

नेता गच्छदारले पार्टी एकिकरणका समयमा भएको सहमति सभापति  शेर बहादुर देउवाले वेवास्ता गरेको र आफ्ना कार्यकर्ताको भावनामा खेलवाड भएको भन्दैै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् ।

सोमबार काठमाडौंमा भएको पार्टीका पूराना नेताहरुसँगको सामूहिक छलफल कार्यक्रममा बोल्दै नेता गच्छदारले आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम भएको र सम्झौताहरु कार्यान्वयन नभएको आरोप लगाए ।

उनले काँग्रेसमा गुट र उपगुट हावि भएको, पार्टिलाई सवल नेतृत्व दिन नसकेको, कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसकेको र आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाएका छन् ।
नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको पनि स्पष्ट पारे ।

उनले निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन कोसिस गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रीय सदस्य बनाउनसमेत अस्वीकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।
गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गत असोज २१ गते पार्टी एकीकरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्