असोज ३ भित्रै मौलिक हकसम्बन्धी कानून बनाइ सक्ने : मन्त्री तामाङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले असोज ३ भित्रै मौलिक हकसम्बन्धी कानून ल्याइसक्ने भन्दै त्यसका लागि तयारी भइरहेको बताएका छन् । उनले विदुषी योगमाया विश्वविद्यालय स्थापनाका लागि कानूनी प्रबन्ध भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै मन्त्री तामाङले सो जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को केही दिनअघिको बैठकले सो विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

मन्त्री तामाङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई कानूनी सहायता दिने गरी कानूनी व्यवस्था गरिएको बताए । उनले न्यायालयलाई स्वच्छ र पारदर्शिता बनाउने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरे ।

गुठी र भूमि व्यवस्थासम्बन्धी ऐन तयार हुँदै गएकाले गुठीको जग्गाको व्यवस्थापन गरिने विश्वास व्यक्त गर्दै उनले पूर्वाधार विकासमा कुनै अप्ठ्यारो नहोस् भन्ने विषयमा सरकारले विशेष ध्यान दिने बताए ।
राष्ट्रिय सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ भने सोही बैठकमा विनियोजन विधेयकमाथिको अन्य मन्त्रालयको छलफल कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्