प्रधानमन्त्री ओलीले मनपरीतन्त्र चलाएको कांग्रेसको आरोप, तत्काल निर्णय सच्याउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र नभई उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ ।

वर्तमान सरकारले अघिल्लो सरकारले गरेको सबै नियुक्तिहरू खारेज गर्ने निर्णय गरेपछि आक्रोशित भएको नेपाली कांग्रेसले माओवादीको डिजेल र जबजको पेट्रोलले चलेको गाडी जतिबेला पनि दुर्घटनामा पर्न सक्ने चेतावनी दिएको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको मितिदेखि नयाँ सरकार गठन नहुँदासम्मका सबै नियुक्ति आचारसंहिताविपरीत भएको भन्दै खारेज गर्ने निर्णय गरेसँगै कांग्रेस आक्रोशित बनेको हो ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले दुईतिहाइ दम्भको श्रीपेच लगाएर कम्युनिस्ट सरकारले गणतन्त्रको नाममा निरंकुशता लाद्न खोजेको भन्दै निर्णय नसच्याए यसको जवाफ सदन र सडकबाटै दिने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा कांगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो सरकार संसदबाट निर्वाचित सरकार भएको र उक्त समयमा गरिएका निर्णय निर्वाचन आयोग विभिन्न बोर्डहरूसँगको अनुमति र प्रक्रिया पूरा गरेको भन्दै वर्तमान सरकारले स्वेच्छारी ढंगले निर्णय उल्ट्याउन लागेको आरोप लगाए ।

उनले सरकारले बदनियतपूर्ण निर्णय गरेर कानुनको उल्लंघन गरेको बताए । उनले स्थानीय, प्रदेश संघको निर्वाचन भई गम्भीरतापूर्वक अगाडि बढिरहेको अवस्थामा सरकारले मनोपोली चलाइरहेको बताए । सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै उनले केपी ओलीले मनपरीतन्त्र चलाएको आरोप लगाए ।

शिक्षा मन्त्रालयले विवादास्पद प्रतिस्थापन विधेयककै प्रावधानमा समेटी नयाँ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्ताव गरेको प्रति असन्तुष्टि व्यक्त गर्दै उनले वर्तमान सरकार चिकित्सा शिक्षा क्षेत्र सुधार र नागरिक हितविपरीत सड्यन्त्र गरेर मेडिकल माफियालाई प्रोत्साहन गरेको बताए ।

सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता शर्माले डा.गोविन्द केसीले गर्नुभएको अनसनपछि कांग्रेस नेतृत्वको सरकारले उहाँलगायत आम नागरिकको भावना तथा माथेमा आयोगको प्रतिवेदनमा आधारित रहेर विधेयक तयार गरेको र त्यसलाई अध्यादेशका रुपमा जारी गरेको अवगत गराए ।

बढ्दो स्वेच्छाचारिताका विरुद्ध प्रदर्शन गर्न रोक लगाउने उद्देश्यले माइतीघर मण्डलासम्म लगाइएको निषेधाज्ञालाई कांग्रेसले निरंकुशतातर्फ बढ्न सहज हुने सरकारको मीठो भ्रमका रुपमा लिएको जनाएको छ । निषेधाज्ञा फिर्ता नलिए निरन्तर त्यसलाई उल्लंघन गरिने उनको भनाइ थियो ।

प्रवक्ता शर्माले डा. गोविन्द केसीले गरेको चिकित्सा क्षेत्र सुधारको अभियान र माथेमा आयोग प्रतिवेदनका आधारमा रहेर जारी गरेको अध्यादेश मूल मर्मविपरीत विधेयक प्रस्ताव भएको बताए । चिकित्सा जगतका विसंगतिलाई प्रश्रय दिनेगरी विधेयक अगाडि बढाए पाँच तहको आन्दोलन गर्ने उनले उद्घोष गरे ।

उनले चिकित्सा जगतका विसंगतिलाई प्रश्रय दिने यो विधेयक अगाडि बढे कांग्रेस पाँच तहको आन्दोलनमा जानेछ । कांग्रेसले सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहसम्म गर्नेछ।ु प्रवक्ता शर्माले सरकारले लगाएको निषेधाज्ञा फिर्ता नलिए निरन्तर निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिए ।

प्रवक्ता शर्माले गंगामाया अधिकारीको माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले एकजना महिला राष्ट्रपति भइरहँदा एकजना न्याय माग्दै अस्पतालको बेडमा छटपटाउनु मानवीयताका हिसाबले पनि गम्भीर कुरा भएको बताए । मानवीयतका हिसाबले पनि गंगामायाको जीवनरक्षाका लागि सरकार गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्