वाढी,पहिरो पीडितको तत्काल उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले वाढी पहिरो प्रभावित जिल्लाका आफ्ना कार्यकर्तालाई उद्धार, राहतमा जुट्न निर्देशन दिएको छ । कांग्रेसले आफ्ना कार्यकर्तालाई पीडितहरुलाई उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरुलाई स्थानान्तरण गराउने कार्यमा जुट्न निर्देशन दिएको हो ।

कांग्रेस केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै वाढी पहिरोबाट कञ्चनपुर, कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लाहरुमा डेढ दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिसहरु वेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्तिहरु घाइते भएको जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसले केही दिनदेखि परेको अविरल वर्षाले आएको वाढी, पहिरो र डुवानबाट पीडित भएकाहरुको प्रभावकारी उद्धार तथा उचित राहतको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा कांग्रेसले प्राकृतिक विपतको संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरु, खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग आग्रह गरेको छ ।

बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि पहल थालन समेत कांग्रेसले सरकारसँग माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्