पत्रकारिता क्षेत्र मर्यादित, व्यवस्थित र जीवन्त हुनुपर्ने : मन्त्री बाँस्कोटा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउँदै पत्रकारिता क्षेत्र अझ बढी मर्यादित, व्यवस्थित एवं जीवन्त हुनुपर्ने बताएका छन् ।
मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने उद्देश्यका साथ सरकार अगाडि बढिरहेको पनि बताए ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले अधिनायकवाद विरुद्ध लडेर आएको अहिलेको कम्युनिष्ट सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासप्रति प्रतिवद्ध रहेको बताए ।

मन्त्री बाँस्कोटाले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुन नदिनेतर्फ सचेत रहन आग्रह गर्दै उनले सरकार सुशासन कायम राख्न रु भ्रष्टाचार विरुद्ध दृढताका साथ उभिने पनि बताए ।

उनले विधिको शासन र संविधानको सर्वोच्चता हाम्रो मान्यता भएकाले यसमा कसैले पनि शंका गर्न नहुने उल्लेख गर्दै पूर्वाग्रही ढंगले आलोचना गर्नुभन्दा विकासको काममा सरकारसंग सहकार्य गर्न सबैलाई आग्रह गरे ।

आगामी १८ महिनाभित्र मुलुकभरि नै नेपाल टेलिकमका फोर जी सेवा लागू भइसक्ने बताउँदै उनले विज्ञापन र आमसञ्चार सम्बन्धी बनेका कानून परिमार्जन हुँदै जाने पनि स्पष्ट पारे ।

 

 

प्रतिक्रिया दिनुहोस्