कांग्रेसले भाग खोजेकै कारण संसदीय सुनुवाइ समिति बन्न सकेन : मन्त्री तामाङ
काठमाडौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कांग्रेसले भाग खोजेकै कारण संसदीय सुनुवाइ समिति बन्न नसकेको बताएका छन् ।
मन्त्री तामाङले सुनुवाइ बन्न नदिएर आफैं अड्काउने काम कांग्रेसले गरिरहेको भन्दै, उल्टै प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र राजदूतलगायतको नियुक्ति किन ढिला गरेको बताए ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री तामाङले कांग्रेसी नेताहरूलाई अहिले भाग पाइएन भनेर छटपटी भैरहेको आरोप लगाएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस इतिहासमै यति निरीह बनेर सरकारसँग अंश खोजेको आरोप लगाए ।
मन्त्री तामाङले कांग्रेसका केही साथीहरू अहिले सरकारसँग अंश खोज्दैछन् भन्दै संवैधानिक नियुक्ति गर्नको लागि संसदीय समिति किन बन्न सकेन ? यसको कारण हो कांग्रेसले भाग खोज्नु, उसलाई विभिन्न समितिका सभापति चाहिएको छ, कहाँसम्म भने उसले कांग्रेसका जति सांसदहरूलाई एउटै समितिमा राख्नुपर्ने माग गरेको छ, यो कहाँको लोकतान्त्रिक कुरा हो ?’ भन्दै प्रश्न गरे
मन्त्री तामाङले कांग्रेसले यसैगरी अंश खोज्ने हो भने सरकारमा सहभागी हुन समेत आग्रह गरे । उनले भने,‘प्रतिपक्षमा बसेर किन अंश खोज्नुहुन्छ, बरु आजदेखि हामी प्रतिपक्षमा बस्दैनौं भनेर हामीसँग हात जोड्न आउनुभयो भने सरकारमा स्वागत गर्न तयार छौं।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक समृद्धिको दिशामा अघि बढेकोले कांग्रेसलाई बाहिर राख्ने आफूहरूको विल्कुल कुनै चाहना नरहेको उनको भनाइ थियो ।
कांग्रेसका केही नेताहरूले त स्वयम कानूनमन्त्रीले नै कानून उल्लंघन गरेका छन् भनेर सार्वजनिक रूपमै आरोप लगाएका छन् नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘सरकार पूर्ण रूपमा कानून र संविधानको आदेश अनुसार नै चलेको छ, हामी कानूनी राज्य र संवैधानिक सर्वोच्चताको पक्षमा छौं, सरकारले जे जति आदेशहरू गरेको छ, ती सबै कानूनसहितका आदेशहरू हुन्, कानून बेगर हामी कुनै आदेश गर्दैनौं, प्रतिपक्षले खाली आरोपको लागि मात्रै आरोप लगाएको छ, सरकारले राम्रो काम गरेको देखेर प्रतिपक्षीलाई छटपटी भएको हो।’
कांग्रेस सरकारमा हुँदा र तत्कालीन नेकपा एमाले प्रतिपक्षमा हुँदा कांग्रेसले लेखा समितिको सभापति समेत आफूहरूलाई दिन नमानेको उनको गुनासो थियो ।
प्रतिक्रिया दिनुहोस्