चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । खिचापोखरी, न्यूरोडस्थित सहकारी संस्था लिमिटेडको काठमाडौंको बबरमहलमा सम्पन्न सभामा संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनसँगै आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।
२०औँ वर्षको यात्रामा प्रवेश गरेको संस्थामा आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा १,९७५ शेयर सदस्य आबद्ध रहेका छन्। यस अवधिमा संस्थाको कुल शेयर पुँजी करिब ८ करोड रुपैयाँ, कुल निक्षेप संकलन ७५ करोड रुपैयाँभन्दा बढी र कुल कर्जा लगानी करिब ३९ करोड रुपैयाँ पुगेको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
२९ जना संस्थापक सदस्यबाट सुरु भएको संस्थाले हाल खिचापोखरी, न्यूरोडस्थित आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्दै आएको छ । संस्थाले नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) अनुसारको लेखा प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ ।
साथै प्रदेश सहकारी रजिष्टारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) तथा सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) सम्बन्धी नियामक निर्देशनहरूको पालना गर्दै सुशासनलाई सुदृढ बनाइएको संस्थाले जनाएकाे छ ।
सामाजिक उत्तरदायित्व र सदस्य सशक्तीकरणअन्तर्गत संस्थाले १९औँ स्थापना दिवस तथा वार्षिक कार्ययोजनाबमोजिम बृहत् रक्तदान कार्यक्रम, ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर र पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी वार्षिक मनोरञ्जन तथा सहभोज कार्यक्रम २०८२, मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाउने कार्यक्रम तथा साना तथा मझौला व्यवसायी (SME) सदस्यका लागि ‘CHITCOL Digital Catalyst’ डिजिटल मार्केटिङ तालिम पनि सञ्चालन गरिएको छ ।
साधारण सभाले कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्ण बहादुर बस्नेतको प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण बहादुर गुभाजुको बाह्य लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
साथै प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम, अनुमानित बजेट र लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि पारित भएको छ ।
सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति बिक्री, निष्क्रिय सदस्य र भाखा नाघेको ऋण व्यवस्थापन, अन्य सहकारी संस्थासँग एकीकरण तथा बहुउद्देश्यीय व्यवसाय सञ्चालन सम्भाव्यतासम्बन्धी विशेष प्रस्तावहरू समेत सभाले पारित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिवेशमा पनि सदस्य संख्या, शेयर र बचतमा गुणात्मक वृद्धि, सामाजिक उत्तरदायित्व निर्वाह, NFRS कार्यान्वयन र नियामक अनुशासनमार्फत संस्थाले आर्जन गरेको विश्वास अन्य सहकारीका लागि अनुकरणीय रहेको बताए ।























प्रतिक्रिया दिनुहोस्