नेपाल–भारत नीति संवाद: नेपाल–भारत सम्बन्धमा चुनौती पार गरेर बढ्नैपर्ने सुझाव
काठमाडौं, ६ मंसिर । भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य तथा डा. श्याम प्रसाद मुखर्जी रिसर्च फाउण्डेशनका प्रमुख डा. अनिरवन गाँगुलीले नेपाल र भारत मिलेर चुनौतीहरुलाई पार गरेर बढ्नुपर्ने बताउनुभयो । दुवै देश मिलेर नयाँ धार्मिक संकट बनाउने र ग्रन्थहरु उल्था गर्न सक्ने बताउनुभयो । उहाँले नेपालमा धार्मिक ग्रन्थहरु संरक्षण गरिएको र त्यसलाई भारतमा उल्था गर्ने तत्परता देखाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ग्रन्थहरुको डिजिटलाइजेसन र ग्रन्थ उल्था अनिवार्य छ । यसका लागि संयुक्त कार्य गर्न सकिन्छ ।
नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले पत्रकारिताका माध्यमले दुई देशबीच समस्या आउँदा संयमताको जरुरी पर्ने बताउनुभयो । नेपाल र भारतको पत्रकारितामा साझा समस्याहरु रहेको र त्यसका लागि मिलेर काम गर्नुपर्ने बताउनुभयो । पत्रकारितामा प्रविधि बढी हावी हुँदा पत्रकारिताको मूलकर्म र धर्मलाई आघात पु¥याइरहेको बताउनुभयो । पत्रकारितामा प्रविधिको प्रयोग गर्नुपर्ने तर हामी दिन नहुनेमा सचेत रहँदै यस क्षेत्रमा दुवै देशले मिलेर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र भारतका पत्रकारहरुको सहकार्यका कार्यक्रमहरु बढाउनुपर्ने आवश्यकता छ । पर्यटन गन्तव्यहरुबारे प्रचारमूलक कार्यक्रम बढाउनुपर्नेछ ।’
भारतका पत्रकार तथा मिडिया अध्ययनकर्ता अरुण आनन्दले सभ्यतामाथि संगठित मिडियामार्फत् योजनावद्ध तरिकाले भइरहेको आक्रमणको मिलेर सामना गर्नुपर्ने बताउनुभयो । सभ्यतामाथिको आक्रमणबाट बेलैमा सचेत भएर कार्य गर्न जोड दिनुभयो । नेपाल र भारतबीच एक अर्काको कन्टेन्ट र सामाग्रीलाई विश्वास गर्ने अवस्था तयार गर्नुपर्ने बताउनुभयो । दुवै देशबीच पत्रकारहरुबीच निकट सम्बन्ध र सहकार्य आवश्यकता औल्याउनुभयो । सत्यतथ्य खबरमा एक अर्काको सामाग्रीमाथि विश्वासको वातावरण बनाएमा धेरै समस्या समाधान हुने बताउनुभयो ।
वरिष्ठ पत्रकार डा. गोपाल खनालले मिडिया दुई देशबीच कुनैपनि समस्या आउँदा समाधानका लागि संवादको माध्यम बन्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रहरुको पहिचान गरी सीमापार धार्मिक पर्यटनको सर्किट बनाउन सकिने सुझाव दिनुभयो । उहाँले नेपाल भारत मिडिया तथा पर्यटन फोरम स्थापना भएमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा गतिविधि बढ्ने बताउनुभयो ।
नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टरिङका निर्देशक अजय ढकालले नेपाल र भारतबीचको भावनात्मक सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताउनुभयो । उहाँले जनता, कर्मचारी र राजनीतिक तहमा दुई देशबीच सहकार्य गरेर सम्भावना खोजेर कार्यान्वयमा लानुपर्नेमा जोड दिनुभयो ।
व्यवसायी समेत रहेका शोधकर्ता बालबहादुर तामाङले पर्यटन विकासका लागि पूर्वाधारको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पर्यटनका लागि दुवै देश थप प्रविधिमैत्री हुनुपर्ने र स्वच्छता कायममा नागरिक समेत जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धका अध्ययनकर्ता विराटकृष्ण थापाले प्रोपोगान्डा भिडियो र कन्टेन्टले दुई देशको सम्बन्धमा समस्या बढाइदिएको बताउनुभयो । उहाँले अल्गोरिदम, गलत सूचना र झुटा सूचनाले चुनौतीहरु बढाइरहेकोले नेपाल र भारतको सम्बन्धमा पनि समस्याहरु बढाइदिने गरेको उदाहरण प्रस्तुत गर्नुभयो । संगठित समूहले योजनावद्ध रुपमा भिडियो बनाएर दुई देशको सम्बन्धमा समस्या ल्याइदिएको र त्यस्ता समूहले सर्वसाधारण, परिवार र समाजमा नकारात्मक असर पु¥याइरहेको बताउनुभयो ।
सेसनको संचालन गर्नुभएका नेपाल पर्यटन बोर्डका रिसर्च निर्देशक लक्ष्मण गौतमले पर्यटनका क्षेत्रमा नयाँ थप सर्किटहरु निर्माणमा जोड दिनुभयो । उहाँले नेपाल र भारतबीच धार्मिक सर्किटको सम्भाव्यता औल्याउनुभयो ।























प्रतिक्रिया दिनुहोस्