प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीमा राज्यमन्त्री जितिन प्रसादले स्वागत

 

काठमाडौं, ६ कार्तिक । र्तिक । दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत गएका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

कुनै देशका प्रधानमन्त्री अर्को मुलुकको औपचारिक भ्रमणमा जाँदा विमानस्थलमा स्वागत गर्न को पुग्छ भन्ने विषयले कूटनीतिक अर्थ राख्छ।

स्वागत गर्न आउने पदाधिकारीको तहले दुई देशबीचको सम्बन्ध र भ्रमणलाई दिइएको राजनीतिक महत्त्वको संकेत गर्न सक्छ। त्यसैले विदेशी प्रधानमन्त्रीलाई स्वागत गर्न सरकारको कुन तहका पदाधिकारी खटाइन्छन् भन्ने विषयमा चासो हुन्छ।

विगतमा नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफै विमानस्थल पुगेका उदाहरण पनि छन्। कहिले विदेशमन्त्री र गृहमन्त्री पुगेका छन्।

धेरैजसो भ्रमणमा भने राज्यमन्त्रीले नै स्वागत गरेका छन्। एकपटक त मन्त्री नै नपुगी विदेश मन्त्रालयका उच्च अधिकारीले मात्र स्वागत गरेको उदाहरण पनि छ।

गिरिजाप्रसादलाई स्वागत गर्न मनमोहन सिंह आफै पुगे

२०६२र६३ को जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफै विमानस्थल पुगेका थिए।

सन् २००६ जुन ६ मा कोइराला चारदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुग्दा सिंह विमानको एरोब्रिजसम्मै पुगेर उनलाई स्वागत गरेका थिए।

विदेशी सरकार प्रमुखलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफै विमानस्थल पुग्नु सामान्य कूटनीतिक अभ्यासभन्दा फरक कदम थियो।

त्यति बेला नेपालमा १९ दिने जनआन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्य भएको थियो। प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री बनेका कोइराला आफ्नो पहिलो विदेश भ्रमणमा भारत पुगेका थिए।

नेपालको राजनीतिक परिवर्तनलाई भारतले दिएको महत्त्व सिंहको स्वागतमा पनि झल्किएको थियो।

त्यसपछि सन् २००८ सेप्टेम्बर १४ मा पहिलो माओवादी प्रधानमन्त्रीका रूपमा भारत पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय गृह राज्यमन्त्री शकिल अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए।

सन् २००९ अगस्ट १८ मा भारत पुगेका प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश राज्यमन्त्री परनीत कौरले स्वागत गरेकी थिइन्।

त्यसअघि सन् २००२ मार्च २० मा भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई वाणिज्य राज्यमन्त्री राजीव प्रताप रूडीले स्वागत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्