प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको पूँजी बजारदेखि ऊर्जा र प्रविधि क्षेत्रसम्मका प्रतिनिधि सहभागी हुँदै
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा नेपालको निजी क्षेत्रको उल्लेख्य सहभागिता रहने भएको छ। पूँजी बजार, ऊर्जा, सूचना प्रविधि, उद्योग, पर्यटन तथा पूर्वाधारलगायत विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित ५२ सदस्यीय व्यावसायिक टोली पनि प्रधानमन्त्रीसँगै भारत जाने भएको हो।
नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालसमेत भ्रमण टोलीमा समेटिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका ढकालको सहभागिताले दुई देशबीच पूँजी बजार तथा वित्तीय क्षेत्रमा सहकार्य विस्तारको सम्भावनालाई थप महत्त्व दिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको दुईदिने राजकीय भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा मात्र नभई आर्थिक साझेदारीका नयाँ ढोका खोल्ने माध्यमका रूपमा समेत हेरिएको छ। विशेषगरी नेपालको पूँजी बजारको विकास, लगानी विस्तार र वित्तीय क्षेत्रको संस्थागत सुधारका विषयलाई भारतीय पक्षसँग छलफलमा लैजान सकिने अपेक्षा गरिएको छ।
नेपालको पूँजी बजारलाई पारदर्शी, व्यवस्थित र लगानीमैत्री बनाउने चुनौतीका बीच ढकालको सहभागितालाई अर्थपूर्ण मानिएको छ। भारतीय पूँजी बजार तथा वित्तीय संस्थाहरूको अनुभव, प्रविधि र अभ्यासबारे जानकारी आदानप्रदान गर्न सके नेपालको वित्तीय क्षेत्रको विकासमा समेत सहयोग पुग्न सक्ने देखिन्छ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हुनुका साथै बैंकिङ, वित्तीय सेवा र पूँजी बजारको विकासमा लामो अनुभव भएको मुलुक हो। भारतीय व्यावसायिक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग हुने छलफलले नेपालको पूँजी बजारका सम्भावना, चुनौती र सुधारका आवश्यकतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
५२ सदस्यीय टोलीमा प्रमुख व्यावसायिक संस्थाका प्रतिनिधि
प्रधानमन्त्री शाहसँग भारत जाने ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डलमा मुलुकका प्रमुख व्यावसायिक संस्थाका पदाधिकारीदेखि विभिन्न उद्योग क्षेत्रका उद्यमी तथा व्यवसायी समेटिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा र महानिर्देशक गोपालप्रसाद तिवारी टोलीमा सहभागी हुनेछन्। महासंघका कार्यसमिति सदस्य सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, निरज काफ्ले र शिवकुमार अग्रवाल पनि भ्रमणमा जानेछन्।
त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र राजबहादुर शाह प्रतिनिधिमण्डलमा समेटिएका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रासहित नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।
ऊर्जा, सूचना प्रविधि र पर्यटन क्षेत्रको समेत प्रतिनिधित्व
यसपटकको व्यावसायिक प्रतिनिधिमण्डलमा ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, अटोमोबाइल, औषधि उत्पादन, हस्तकला, निर्यात तथा उत्पादनमूलक उद्योगका प्रतिनिधिहरूलाई समेत समेटिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।
त्यसैगरी नेपाल निर्माण व्यवसायी महासंघ, नाडा अटोमोबाइल्स एसोसिएसन, होटल एसोसिएसन नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, नेपाल औषधि उत्पादक संघ तथा नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक संघका प्रतिनिधिहरू पनि भारत जानेछन्।
सरकारले विभिन्न क्षेत्रका उद्यमी तथा व्यवसायीलाई समेत प्रतिनिधिमण्डलमा समेटेको छ। सचिन ढकाल, जीवा लामिछाने, नितेश मालपानी, कल्याण गुरुङ, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, दीपक थापा र सञ्जय काफ्लेलगायत व्यवसायीको सहभागिता रहनेछ।
नेपाल–भारत व्यावसायिक मञ्चमा व्यापार र लगानी मुख्य एजेन्डा
भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत व्यावसायिक मञ्चलाई दुई देशका निजी क्षेत्रबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। मञ्चमा व्यापार, लगानी, औद्योगिक साझेदारी तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल हुनेछ।
आइतबार साँझ रात्रिभोजसहित आयोजना हुने कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
मञ्चमार्फत भारतीय लगानीकर्तासँग नेपाली व्यवसायीको प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, नेपालमा लगानीका सम्भावना प्रस्तुत गर्ने तथा नेपाली उत्पादनको भारतीय बजारमा पहुँच बढाउने विषयलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।
विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन र उत्पादनमूलक उद्योगमा लगानी तथा संयुक्त व्यावसायिक साझेदारीका नयाँ अवसर पहिचान गर्न मञ्च उपयोगी हुने विश्वास गरिएको छ। यसले दुई देशका निजी क्षेत्रबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध विकास गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीसँग भारत जाने निजी क्षेत्रका प्रतिनिधिहरूले आफ्नो हवाई टिकट तथा होटल खर्च आफैँ बेहोर्नुपर्ने व्यवस्था गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सरकारी प्रतिनिधिमण्डलमा भने ३४ जना सहभागी हुनेछन्।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
सरकारी टोलीसँगै निजी क्षेत्रका विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेख्य सहभागिताले यसपटकको भ्रमणमा आर्थिक कूटनीति, लगानी प्रवर्द्धन र व्यावसायिक सहकार्यलाई विशेष प्राथमिकता दिइएको संकेत गरेको छ। भ्रमणका क्रममा हुने छलफल र व्यावसायिक सम्पर्कले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।























प्रतिक्रिया दिनुहोस्