प्रधानमन्त्री बालेन शाह भारत भ्रमण जानुअघि अन्य दलसँग परामर्श नगरेकोप्रति कांग्रेस आपत्ति

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह भारत भ्रमण जानुअघि अन्य दलसँग परामर्श नगरेकोप्रति आपत्ति जनाएको छ।

वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भ्रमण अघि राष्ट्रको साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन समेत आवश्यक नठानेको भन्दै असन्तुष्टि जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल एवं विषय विज्ञहरुसँग परामर्श गर्न आवश्यक ठानेन । राष्ट्रिय महत्त्वको भ्रमण अघि राष्ट्रको साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन समेत आवश्यक ठानेन । त्यसैले नेपाली कांग्रेसले पनि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन ।’

प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रिय हितका विषयमा जति व्यापक परामर्श र साझा समझदारी निर्माण हुन्छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान त्यति नै बलियो हुन्छ, तर दुर्भाग्यवश यो गहिरो वास्तविकता सरकारले आत्मसात गर्न सकेन ।’

सरकारको कमजोरीलाई प्रधानमन्त्रीको भ्रमणको सम्भावित विषयवस्तुसँग जोडेर हेर्न नचाहेको उल्लेख छ।

‘सरकारसँग हाम्रो विविध असहमति हुन सक्छ, तर नेपालको राष्ट्रिय हित र मित्र राष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा हाम्रो प्रतिबद्धता प्रधानमन्त्रीको साथमा स्पष्ट र अटल छ’ विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमणको सफलतासँग हाम्रो देशको सफलता गाँसिएको छ, अतः नेपाली कांग्रेस यो भ्रमणप्रति हार्दिक शुभेच्छा प्रकट गर्दछ ।’

भ्रमण क्षणिक लोकप्रियता आर्जन गर्ने वा तात्कालिक प्रचारमा सीमित नबनाउन समेत आग्रह गरेको छ। कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्ण सफलताको कामना समेत गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्