५ पटक प्रधानमन्त्री भएँ, अब जीवनभर देश र जनताका लागि समर्पण गर्छुः देउवा
काठमाडौं, ४ कार्तिक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो जीवन रहेसम्म देश र जनतालाई दिने बताएका छन् । इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफ्नो जीवन रहेसम्म देश र जनतालाई दिने बताएका हुन् ।
उनले भने, ‘म डडेलधुराको साधारण परिवारमा जन्मेको व्यक्ति हुँ। पाँच पटक प्रधानमन्त्री पाइसकेँ, मलाई जनताले दिइसक्नुभयो। मैले केही पाउनु पनि छैन। मैले आफ्नो जीवन रहेसम्म देशलाई दिने हो, जनतालाई दिने हो। अब दिनुपर्ने मात्रै छ। मेरो जीवन रहुन्जेलसम्म नेपाली जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने चाहन्छु।’
उनले आगामी निर्वाचनमा बागलुङबाट पार्टीलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरे। पार्टीको आधिकारिकता सर्वोच्च अदालतबाट आफूले नै पाउने विश्वास व्यक्त गरे।
देउवाले थपे, ‘हिजो मलाई पञ्चायतकालमा थुनेर राखेको थियो। त्यो बेला अदालतले हिम्मत गरेर मलाई छोड्यो। पूर्वराजा ज्ञानेन्द्रको बेलामा पनि शाही आयोग गठन गरेर मलाई थुनेको थियो। राजा अगाडि सर्वोच्च अदालत पनि डराएन । सर्वोच्चले हिम्मत गर्यो, मलाई जेलबाट छोडेको हो। मलाई विश्वास छ, सर्वोच्च अदालतबाट पूरापूरा न्याय पाइनेछ।’ यसले गर्दा इतरपक्षलाई आट बढेको छ ।























प्रतिक्रिया दिनुहोस्