प्रधानमन्त्री बालेनको भारत भ्रमणमा आर्थिक कूटनीति र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता
काठमाडौं, ४ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा उच्चस्तरीय राजनीतिक भेटवार्तासँगै आर्थिक कूटनीति, व्यापार तथा लगानी प्रवर्द्धन र निजी क्षेत्रबीचको सहकार्यलाई विशेष प्राथमिकता दिइने भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुने दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुका साथै नेपाल–भारत आर्थिक साझेदारी विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना हुने जानकारी दिए। उक्त फोरममा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले व्यापार, लगानी, आर्थिक सहकार्य र नीतिगत सुधारका सम्भावनाबारे छलफल गर्नेछन्।
भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायी टोली सहभागी हुँदैछ। सचिव राईका अनुसार व्यवसायीबीच हुने छलफलले दुई देशबीच व्यापार तथा लगानीका नयाँ अवसर पहिचान गर्नुका साथै आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भ्रमणको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग औपचारिक वार्ता गर्नेछन्। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
यसैगरी, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय विदेशमन्त्री डा। एस। जयशंकरले पनि उनीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिव राईले जानकारी दिए।
प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत तय भएको छ।
राजनीतिक तथा आर्थिक सहकार्यका अतिरिक्त भ्रमणका क्रममा ऊर्जा सहकार्य र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ।
सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मीसमेत सहभागी हुने भ्रमणलाई नेपाल–भारत सम्बन्धका विविध आयाममा उपलब्धिमूलक बनाउने सरकारको अपेक्षा छ।
सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भ्रमणले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
मन्त्रालयले भ्रमणसम्बन्धी थप विवरण आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ। भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरी थप जानकारी दिइने पनि मन्त्रालयले जनाएको छ।























प्रतिक्रिया दिनुहोस्