आज १ मंसिरदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु, छाप लगाएर मात्रै बिक्रि वितरण

काठमाडौं, १ मंसिर। आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ ।

उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित सरकारले उपत्यकामा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।

यसअघि सरकारले १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनमा आएको घोषणा गरेको थियो । राजपत्रको सूचना अनुसार यो ऐन देशभरि तीन चरणमा लागु गर्ने कार्यतालिका तय गरिएको छ । जसअनुसार पहिलो चरणमा आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका सबै स्थानीय तहमा ऐन लागु भएको हो ।

त्यस्तै दोस्रो चरणमा आगामी १ माघदेखि उपत्यका बाहिरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका तथा तेस्रो चरणमा आगामी वर्ष १ साउन २०८४ देखि देशभरिका बाँकी सम्पूर्ण गाउँपालिकामा यो ऐन कार्यान्वयनमा ल्याइने छ ।

ऐन कार्यान्वयन सुरुवात उपत्यकाका तीन जिल्लाका तीनवटा स्थापित वधशालाबाट परीक्षण सहित स्वच्छ मासु उत्पादन र बिक्री प्रक्रिया सुरु गरिएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौंस्थित भ्याली कोल्ड स्टोर, भक्तपुरको मध्यपुर थिमिस्थित न्यु पञ्चकन्या वधशाला र ललितपुरस्थित एभरेस्ट बंगुर वधशाला (स्लटर हाउस) बाट मासु जाँच तथा छाप लगाउने कार्यको थालनी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्