प्रतिनिधि सभामा शुरू भयो नयाँ अभ्यास, सम्बोधन लगत्तै प्रधानमन्त्रीलाई प्रश्न ?

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधन लगत्तै प्रश्न सोध्न पाउने अभ्यास शुरू भएको छ ।

सभामुख कृष्णबहादुर महराले मंगलवारदेखि प्रधानमन्त्रीलाई प्रश्न सोध्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएका हुन् । संसद नियमावलीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएपनि यो कार्यान्वयनमा आउन सकेको थिएन । प्रतिनिधि सभाको बैठकमा मंगलबार ‘सार्वजनिक महत्वको विषयमा वक्तव्य’ दिए लगत्तै सोही विषयमा प्रश्न गर्न सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसदलाई १ मिनेटको समय दिएका थिए ।

प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका दिलेन्द्र बडूले प्रश्न गर्दा प्रधानमन्त्री ओली रोस्टममै उभिएका थिए । प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा संसदलाई जानकारी गराएलगत्तै विपक्षी सांसदले लिपुलेकको विषयमा प्रश्न गरेका थिए ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सत्रलाई महत्वपूर्ण अभ्यासको रुपमा लिने गरिन्छ । आज संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत विनियोजन विधेयकमाथि छलफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्