कांग्रेसको १५औं महाधिवेशन: नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै 

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ ।

आज बिहान १० बजेदेखि मतदान कार्य सुरुहुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजे मात्र सुरू गर्न लागिएको जानकारी बताए । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । उनका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

तीन स्थानमा मतदानको व्यवस्था: 

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । यसले सबैले प्रतिनिधिको परिचय तथा मतदाता नामावली क्रमसंख्या साथमा राख्न निर्वाचन समििितले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्