अपांगता कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दै भोजराज
काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनमा अपांगता कोटाबाट सिन्धुपाल्चोकका भोजराज श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
उनी अपांगता भएका व्यक्तिहरुको अभियानमा लामो समयदेखि सक्रिय छन् । उनले संविधानमा नै अपांगता भएका व्यक्तिहरुको अधिकार लेखाउनका लागि दबाब दिएको र त्यो लक्ष्य पूरा भएको बताए । ‘हामीले राजनीतिक अधिकार पनि पाउनुपर्छ भनेर धेरै वर्य संघर्ष गर्नुपरेको थियो, अब भनें त्यो लक्ष्य केही पूरा भयो तर अरु अझै बाँकी छ’ उनले भने –‘अपांगता भएका व्यक्तिलाई दयाको भावले हेरिनु दुःखद् कुरा हो ।’ उनको सक्रियतामा २०६३ सालमा राष्ट्रिय लोकतान्त्रि अपांग संघ स्थापना भएको थियो । यो संस्थाले केहीपछि ९ औं भ्रातृसंस्थाको रुपमा मान्यता पाएको थियो । उनी यसका संस्थापक अध्यक्ष हुन् । उनले २०६२–६३ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ‘म जुनसुकै आन्दोलनमा पनि सक्रियताका साथ लागेको छु त्यसैले पनि यसपटक मेरो मुल्यांकन हुन्छ भन्ने लागेको छ ’ उनले भने ‘शायद लाग्छ, मेरो यो क्षेत्रमा मैले गरेजस्तो योगदान र त्याग तपस्या अरु कसैले गरेको छैन ।’
उनले पार्टीमा पनि अपांगता भएका व्यक्तिका लागि कोटा छुट्याउन नेतृत्वदायी भूमिका खेलेको बताएका छन् । उनी सिन्धुपाल्चोक–१ बाट महाधिवेशन प्रतिनिधि छानिएका हुन् । ‘मलाई कमजोर ठान्नेहरुको पनि संख्या निकै छ तर म देश दौडाहामा गएर धेरै काम गरिसकेको छु’ उनले भने ‘मेरो उम्मेदवारी भनेको यो क्षेत्रको लागिमात्रै होइन, मैले कांग्रेसलाई कसरी राम्रो बनाउने भन्ने पनि योजना बनाएको छु ।’ उनले सबैसँग सहयोगको अपेक्षा गरेका छन् । उनी २०४६ सालदेखि सक्रिय राजनीतिमा लागेका हुन् ।







प्रतिक्रिया दिनुहोस्