देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई
काठमाडौं, १८ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताए।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए।
‘अहिले पनि समय छ, सबैले सोच्नुस्। अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले भने।
उनले देश विकासका लागि साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताए।
‘त्यसको एउटा योजना बनाऔँ। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने।
भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा पनि जोड दिए। ‘अब पाठ सिकौँ। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने।







प्रतिक्रिया दिनुहोस्