महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम बन्दैन: उपसभापति पुष्पा भुसाल

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ ऐतिहासिक महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताएकी छिन् ।

काठमाडौंको खुलामञ्चमा आइतबारदेखि शुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकाङ्क्क्षा सम्बोधन गर्न काँग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताइन् ।

उपसभापति भुसालले कांग्रेस २००४ सालदेखि निरन्तर लोकतन्त्रका लागि सङ्घर्ष गर्दै आएको ऐतिहासिक शक्ति भएकाले वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने दायित्व यसै महाधिवेशनको काँधमा रहेको स्पष्ट पारे ।

‘यो महाधिवेशन एउटा सामान्य भेला होइन । चार दशकदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै इतिहास निर्माण गरेको नेपाली काँग्रेसको वर्तमान र भविष्यबारे चिन्तन, संवाद र आत्मसमीक्षा गर्ने महत्वपूर्ण थलो हो । यो महाधिवेशन केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि मात्र भइरहेको छैन,’ उनले भनिन् ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ बढी समावेशी र संस्थागत बनाउन तथा केन्द्रिय तहका हरेक निर्णयलाई पारदर्शी बनाएर तल्लो तहसम्म पुर्‍याउन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान समेत उनले गरिन् ।

मुलुकको जनसङ्ख्यामा ४१ प्रतिशत हिस्सा ओगट्ने नयाँ ‘जेन–जी’ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाज खोजिरहेको उल्लेख गर्दै भुसालले उनीहरूको सपना र भरोसालाई सम्बोधन गर्नेगरी काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिइन् ।

‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामात्र होइन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण नेपालीले आत्मसमीक्षा गर्ने अवसरका रूपमा यस महाधिवेशनलाई लिनुपर्दछ । त्यसैले यो महाधिवेशनलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको ऐतिहासिक अवसरका रूपमा लिन आवश्यक छ । हामीले यो अवसर गुमाउनु हुँदैन,’ भुसालले भनिन् ।

यो महाधिवेशन सम्पन्न गरेर यहाँबाट फर्किएपछि जनताको विश्वास अझ बढाउन गाउँ–गाउँमा जाने ऊर्जा र प्रतिबद्धता हामीसँग छ कि छैन रु भन्ने विषयको जवाफ खोज्नुपर्ने बेला भएको पनि उनले बताइन् ।

मुलुकको ५१ प्रतिशत हिस्सा ओगटेका महिलाहरूले आन्दोलन, निर्वाचन र समाज सञ्चालनमा आफ्नो सामर्थ्य प्रमाणित गरिसकेको स्मरण गराउँदै भुसालले अब पार्टी र राज्यको नीति निर्माण तहमा महिलाहरूको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्