कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने

काठमाडौं, १८ असोज। कांग्रेसको १५औं महाधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ ।  महाधिवेशनको उद्घाटन समारोह आज आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार ९१९–२० असोज० हुने बताएको छ ।

निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता ९रजिस्ट्रेसन० गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।

सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने:

महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने प्रवक्ता चालिसेले बताए । ‘सात हजार पाँच सयभन्दा बढी प्रतिनिधिहरू यसपटकको महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ,’ उनले भने, ‘जुन नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो हो ।’

शनिबार खुल्लामञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशनलाई नीति चयनको अधिवेशनका रुपमा परिणत गर्ने प्रयत्न गरिने बताएका छन् । ‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौं,’ उनले भने ।

रास्वपा लगायत दललाई निम्तो

महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँगै प्रतिपक्षमा रहेका नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायतका दलहरूलाई आमन्त्रण गरेको छ ।

यस्तै, छिमेकी मुलुकहरू भारत–चीनसँगै अमेरिकालगायतका आधा दर्जन बढी मुलुकहरूबाट पाहुना आमन्त्रण गरेको छ । तर, उद्घाटन समारोहको तिथि–मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति न्यून रहने सम्भावना रहेको कांग्रेसले जनाएको छ ।

सोमबारदेखि बन्दसत्र: 

प्रवक्ता चालिसेले आइतबारको उद्घाटनसत्रपछि सुरु हुने बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने बताएका छन् ।

सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने उनले जानकारी दिए ।

प्रतिनिधिहरूका लागि होटल ‘बुकिङ’, खर्च आफैं बेहोर्नुपर्ने: 

महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल ‘बुकिङ’ गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समिति सदस्य रहेका नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौंका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको बताएका छन् ।

उनका अनुसार कोशी र मधेश प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ ।

यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ ।

महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैँले बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ ।

विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले बेहोर्ने बताएको छ । प्रवक्ता चालिसेका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ ।

हेल्थ डेस्कमार्फत स्वास्थ्य सेवा:

महाधिवेशन प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा दिन कांग्रेसले महाधिवेशन स्थलमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरेको छ । महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुलामञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ ।

पाँच स्टल रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने बताइएको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा। केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार डेस्कमा आठ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरु रहने छन् ।

महाधिवेशन स्थलमा ब्लड प्रेसर, सुगर, सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निस्शुल्क प्रदान गरिने केसीले बताएका छन् । प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आए वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बसुन्धारामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको छ ।

त्यसका लागि महाधिवेशन स्थलमा नै दुई एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक परे ‘अन कल’ ड्युटीको व्यवस्थासमेत गरिएको छ ।

होटलमा रहेको अवस्थामा पनि महाधिवेशन प्रतिनिधिलाई कुनै समस्या आइपरे होटलमै पुगेर स्वास्थ्य जाँच गरिने प्रबन्ध गरिएको डा। केसीले जानकारी दिए ।

धरहराको अन्डरग्राउन्डदेखि दरबारमार्गसम्म पार्किङ:

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्