रेल सञ्चालनको नाममा देशले ऋणको भार बोक्नु नपरोस : कांग्रेस सह–महामन्त्री महत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले रेल सेवा सञ्चालनका नाममा देशलाई ऋण नबोकाउन सरकारलाई सुझाव दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले दुवै छिमेकी राष्ट्रले नेपालमा रेल सेवा सञ्चालन होस भन्ने कामना गर्नु स्वभाविक भए पनि रेल सेवाको नाममा मुलुकलाई थप ऋणको बोझ बोकाउन नहुने धारणा राखे । उनले चीन र भारत दुवै छिमेकी राष्ट्रसँग नेपाल सरकारले अनुदानमा रेल निर्माण गर्न अनुरोध गर्नुपर्ने सुझाव दिए ।
‘हाम्रा आफ्नै आन्तरिक आवश्यताहरु धेरै छन्, ती आवश्यकताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ’, महतले भने, ‘यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन्, बनाए अनुदानमा बनाउने हो ।’
उनले राष्ट्रियताको चर्को नारा लगाउने वर्तमान सरकारले नेपालको राष्ट्रियतालाई खोक्रो बनाउदै लगेको आरोप लगाए । ‘सत्तामा नहुञ्जेलसम्म मेरै काँधमा राष्ट्रियता छ जस्तो गरेर खोक्रो राष्ट्रियताको कुरा गर्ने अनि सत्तामा पुगेपछि सबै कुरा राम्रै छ, ठीकै छ भन्ने ?’, नेता महतले भने, ‘जुन ठाउँमा भन्नुपर्ने हो त्यहाँ भन्नुपर्यो, बोर्डर, व्यापार, लगानी, पारवाहन वा यातायातसम्बन्धी के विषयमा बोल्नुपर्ने हो त्यो तर्कसंगत रुपमा राख्नुपर्यो ।’
प्रतिक्रिया दिनुहोस्