बाढीप्रभावितको पुनःस्थापना लागि थप अमेरिकाले ३१ मिलियन सहयोग गर्ने
काठमाडौं, ७ असोज । बाढीपिडितका लागि अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा यस्तो घोषणा गरेकी हुन्।
भेटमा उनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरिन्।
अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न १० मिलियन डलर बराबरको स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ।
त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोगलगायतका क्षेत्रमा थप ८ मिलियन डलर उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ।
बाढीपछिको विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्ने योजना पनि घोषणा गरिएको छ।
यो घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापना प्रयासमा अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ।
अमेरिकाले नेपाल सरकारसँग सहकार्य गर्दै आवश्यकता पहिचान गरी थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।






प्रतिक्रिया दिनुहोस्