नेप्स आजदेखि नियमित कारोबार सञ्चालन हुने

काठमाडौं, ६ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ ।

सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो ।

नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकोले कारोबार नियमित गर्न लागिएको हो ।

डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज ५ गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो ।

डेटा सेन्टरको समस्या कायम रहेको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही निवेदनका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० अनुसार असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो ।

एक दिन कारोबार स्थगित भएपछि डेटा हबको प्राविधिक समस्या समाधान भएको जानकारीसँगै आजदेखि सेयर बजारमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ । यसले गर्दा धेरै लगानी कर्तालाई समस्या परेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्