संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील नभए त्यो एउटा कागज मात्रै बन्ने: प्रधानमन्त्री
काठमाडौं ३ असोज । प्रधानमन्त्री बालेन शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील नभए त्यो एउटा कागज मात्रै बन्ने बताएका छन्।
संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै यसलाई चलाउने हात इमानदार हुनुपर्ने बताएका हुन्।
ुतर एउटा कुरा हामीले कहिल्यै बिर्सनुहँदैन। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागजमात्रै बन्नेछ,ु उनले भने।
उनले संविधानले नेपाली जनतासँग गरेका बाचाहरू कानुनी राज्यका लागि सर्त नभई राष्ट्रिय जीवनको आधार रहेको बताएका छन्।
ुसंविधानले एउटा बाचा गरेको छ। विविधताबीचको एकता सबै प्रकारको विभेद र असमानताको अन्त्य र विकास, समृद्धी एवम् सामाजिक न्यायको आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानवअधिकार र कानुनी राज्य हाम्रा लागि सर्त होइनन्। राष्ट्रिय जीवनको आधार हो,ु उनले भने।
उनले भ्रष्टाचार र दण्डहिनताको जरो गहिरो रहेको पनि बताए।
‘तर जरो उखेल्ने हातहरू अब झन् बलिया छन्। झन् धेरै छन्। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ,’ उनले भने।
वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवम् सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको प्रधानमन्त्री बालेनले जानकारी दिए।
‘सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौं। संघ प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा राष्ट्र विकासको साझा उद्धेश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ,’ उनले भने।







प्रतिक्रिया दिनुहोस्