युवामाथि राज्यबाट बल प्रयोग र दमन सत्यतथ्य बाहिर ल्याउन सभापति थापाको माग
काठमाडौं, २३ भदौ। नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडिओ सन्देश जारी गर्दै युवामाथि राज्यबाट ठूलो बल प्रयोग र दमन भएकाले सत्यतथ्य बाहिर आउनुपर्ने उनको भनाइ छ।
‘ती नौजवानहरू किन मारिएरु के कारणले गर्दा मारिएरु के यसको जिम्मेवारी कसैले लिनुपर्दैनरु के सत्यतथ्य बाहिर आउनुपर्दैनरु के सत्य स्थापित हुनुपर्दैनरु’ उनले प्रश्न गरेका छन्।
उनको भनाइ:
गएको भाद्र २३ को घटनामा मृत्युवरण गर्ने सम्पूर्ण सहिदहरूप्रति म हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। त्यो दिन जजसले आफ्नो जीवन गुमाउनु भयो, उहाँहरूप्रति पनि हार्दिक श्रद्धा अर्पण गर्छु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।
एक वर्ष भइसक्यो, तर पनि आफ्नो सन्तान गुमाउने बाआमाको मनको पीडा उस्तै होला। आफ्नो प्रियजनहरू गुमाइसकेपछाडिको जुन रिक्तता हुन्छ, त्यसलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ। केवल यति भन्न सक्छु, हार्दिक समवेदना।
भाद्र २३ भन्दा केही दिनअगाडि त्यो बेलाको संसद्मा त्यो बेलाको प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मैले एउटा कुरा भनेको थिएँ। ‘प्रधानमन्त्रीजी, हामीले जे गरिरहेका छौँ, ठीक गरिरहेका छैनौँ। हामीले जे गरिरहेका छौँ, नागरिकहरूले त्यसलाई मन पराइरहेका छैनन्। हामीसँग सङ्ख्या छ तर हामीले विश्वास गुमाएका छौँ। हाम्रो कामको ढङ्ग मिलेको छैन, रङ्ग मिलेको छैन, हाम्रो गति ठीक छैन, हाम्रो मति ठीक छैन। हामीले सच्चिनुपर्छ। सच्चिएनौँ भने ठूलो असन्तुष्टि विस्फोट हुन्छ।’
हामीले बुझ्यौँ तर जसले बुझ्नुपर्ने थियो, उसलाई हामीले बुझाउन सकेनौँ। जे नहोस् भनेका थियौँ, त्यही भयो। अन्ततः ठूलो असन्तुष्टि विस्फोट भयो। आज एक वर्ष पुगेको यो तिथिमा म त्यो भाद्र २३ लाई सम्झिएर दुइटा कुरा राख्न चाहन्छु। एउटा माग र एउटा बाचा।
भाद्र २३ गते अबोध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए। तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो। त्यत्रा नौजवानहरू मारिए। किन मारिएरु के कारणले गर्दा मारिएरु के यसको जिम्मेवारी कसैले लिनुपर्दैनरु के सत्यतथ्य बाहिर आउनुपर्दैनरु के सत्य स्थापित हुनुपर्दैनरु के केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पूरा हुन्छरु के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइनरु जिम्मेवारी हो। त्यसैले हाम्रो माग छ, सत्यतथ्य सार्वजनिक होस्, सत्य स्थापित होस् र जसले गलत गरेको छ, उसले दण्ड पाओस्।
भाद्र २३ गतेको अर्को एउटा पक्ष पनि छ। त्यो दिन नौजवानहरू केवल एउटा सरकारका विरुद्धमा नाराबाजी गर्न मात्र सडकमा आएका थिएनन्। उनीहरूको स्पष्ट माग थियो, भ्रष्टाचारमुक्त राज्य, जवाफदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको समाज। ती मागहरू जायज थिए। ती जायज मागहरू पूरा नभएको कारणले गर्दा व्यक्त भएको आक्रोश पनि जायज थियो। आक्रोशलाई हामीले समयमा बुझेनौँ, त्यसको जिम्मेवार हामी हौँ। तर ती मागहरू पूरा गर्ने जिम्मेवारी कसको होरु
हामी सबैको हो। किनकि त्यो दिन सडकमा कुनै एउटा व्यक्ति मात्र आएको थिएन, कुनै एउटा समूह मात्र आएको थिएन, सबै आएका थिए। एउटा पुस्ता नै आएको थियो। त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन। त्यो हामी सबैको जिम्मेवारी हो। हामी सबैको भागमा केही न केही कुरा परेको छ र हामीले आफ्नो ठाउँबाट ती कामहरू पूरा गर्नुपर्नेछ।
म र तपाईँहरूको मागअनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो बाचा हो। भ्रष्टाचारमुक्त राज्य, जवाफदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन शहादत दिएको छ, त्यो शहादतलाई हामी खेर जान दिन्नौँ, यो हाम्रो सङ्कल्प हो।


प्रतिक्रिया दिनुहोस्