बाढीपीडितको राहत, उद्धारका लागि कुनै कसर बाँकी छैन, ‘हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ’ : प्रधानमन्त्री शाह
काठमाडौं, २२ भदौ। प्रधानमन्त्री बालेन शाहले बाढीपीडितको राहत,उद्धारका लागि कुनै कसर बाँकी नराखेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले भने, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ।’
प्रधानमन्त्री शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म निरन्तरता दिने बताए।
भदौ १० गते बिहान रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको करिब ५ हजार ६ सय मिटर उचाइबाट हिमपहिरो खसेपछि भोटेकोशी नदीमा लेदोसहितको आकस्मिक बाढी आएको थियो। बाढीका कारण रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ।
बाढीका कारण केही आयोजनामा कार्यरत मानिसहरू सम्पर्कविहीन भएपछि सुरुआतदेखि नै खोज तथा उद्धार कार्य जारी राखिएको प्रधानमन्त्री शाहले बताए।
“हामी नेपाली मानवतावादी हौँ। स्रोत, साधन र समयको सीमितताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्नेछौँ,” प्रधानमन्त्रीले भनेका छन्।
उनका अनुसार प्रभावित आयोजनाहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली निरन्तर खोज तथा उद्धारमा खटिएको छ। खोजी कार्यमा सहयोग पुर्याउन मित्रराष्ट्रबाट समेत विशेषज्ञ टोली परिचालन गरिएको छ।
रसुवागढी जलविद्युत् आयोजनामा बाढीका कारण हेडवक्र्सका सम्पूर्ण संरचना, पावरहाउस बाहिरका संरचना तथा अन्डरग्राउण्ड पावरहाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुगेको छ। बाढी आएको दिनदेखि नै खोजीको प्रयास गरिए पनि प्रतिकूल अवस्थाका कारण हेलिकप्टरसमेत अवतरण गर्न सकेको थिएन।
आयोजनाबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगे पनि मानिस फेला पार्न सकेन। अहिले हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्याएर खोजी कार्य जारी राखिएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र पुगेर खोजी गरेको थियो। थप खोजीका क्रममा ग्यास वेल्डिङमार्फत सुरुङमा प्वाल बनाएर भित्र प्रवेश गर्दा दुई शव फेला परेका थिए। त्यहाँ अहिले पनि खोजी जारी छ।
चिलिमे जलविद्युत् आयोजनामा पनि सुरुङको प्रवेशविन्दुबाट करिब ९० मिटरभित्र पुग्दा दुई शव फेला परेका थिए। खोजीलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटरसहित अन्य उपकरण प्रयोग भइरहेको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सुरुङभित्र करिब २०० मिटर पुगेपछि ताल भेटिएको थियो। थर्मल ड्रोन प्रयोग गरी खोजी गरिएको थियो। खोजीका क्रममा एक शव फेला परेको थियो भने भदौ २० गते एक जनाको उद्धार गर्नुका साथै थप दुई शव फेला पारिएको थियो।


प्रतिक्रिया दिनुहोस्