मेरोमाइक्रोफाइनान्स र फर्स्ट माइक्रोफाइनान्सद्वारा बाढीपीडितलाई राहत वितरण
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संयुक्त रूपमा उत्तरगया–बेत्रावती क्षेत्रका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेका छन्।
बाढीका कारण प्रभावित भई काठमाडौंमा रहेका करिब ६० घरपरिवारलाई दुवै संस्थाले संयुक्त रूपमा चामल, दाल, नुन, तेल, खानेपानीलगायत दैनिक जीवनमा आवश्यक पर्ने अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेका हुन्।
विपद्को समयमा प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको दुवै संस्थाले जनाएका छन्।
राहत वितरण कार्यक्रममा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक बद्रीप्रसाद पुडासैनी तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल सहभागी थिए।
सो अवसरमा सञ्चालक पुडासैनीर प्रमुख कार्यकारी अधिकृत दाहालले बाढीबाट प्रभावित परिवारलाई संस्थाको तर्फबाट राहत सहयोग गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताए। विपद्को कठिन परिस्थितिमा पीडित परिवारको साथमा उभिनु मानवीय दायित्वसँगै संस्थाको सामाजिक उत्तरदायित्व पनि भएको उनीहरूको भनाइ थियो।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेलले बाढीपीडित परिवारको अवस्थालाई मध्यनजर गर्दै संस्थाले सहयोग गरेको बताए।
उनले विपद्का बेला प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए।
राहत सामग्री प्राप्त गरेपछि बाढीपीडित परिवारले विपद्को समयमा प्राप्त सहयोगले दैनिक गुजारा चलाउन केही सहज हुने बताएका छन्।
लघुवित्त संस्थाहरूले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित तथा समस्यामा परेका समुदायलाई सहयोग गर्दै आएका छन्। पछिल्लो राहत वितरण पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा गरिएको संस्थाहरूले जनाएका छन्।
सोहि अवसरमा काठमाडौंमा आश्रय लिएर बसेका उत्तरगया–बेत्रावतीका बाढीप्रभावित परिवारको अवस्थाबारे मेरोमाईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका डाइरेक्टर बद्रीप्रसाद पुडासैनीले बाढीपीडित शिव लामिछानेसँग भेट गरेका थिए ।
सोभेटमा बाढीपछि राहत व्यवस्थापनको अर्को पाटो बाहिर आयो– विपद्को केन्द्रबाट विस्थापित भएर अन्यत्र पुगेका परिवारसम्म राहत र आधारभूत आवश्यकता कसरी पुगिरहेको छ ?
लामिछानेका अनुसार काठमाडौंमा आश्रय लिइरहेका प्रभावित परिवारको पहिलो आवश्यकता खानेपानी हो ।
‘हामीलाई पानी चाहिएको छ,’ पीडितहरूको भनाइ उद्धृत गर्दै लामिछानेले भने, ‘पानीपछि खाना र बस्ने ठाउँको आवश्यकता छ ।’
बाढीले घर मात्र बगाएको छैन । घरसँगै खाद्यान्न, लत्ताकपडा, रोजगारी र दैनिक जीवन धान्ने आधारसमेत गुमाएका परिवार अहिले आफन्त तथा विभिन्न स्थानको आश्रयमा निर्भर छन् ।
यस्तो अवस्थामा उनीहरूको सबैभन्दा सामान्य आवश्यकता बनेको छ– पिउने पानी र एक छाक खाना ।
तर पीडितको गुनासो छ– ‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ ।’
यो एउटा वाक्य मात्रै होइन, विपद्पछिको राहत व्यवस्थापनमा छुटिरहेको सम्भावित ठूलो समूहको प्रतिनिधि आवाज हो ।
राहत पुगेको तथ्यांकभन्दा पीडितसम्म पुगेको राहत महत्वपूर्ण
उत्तरगया–बेत्रावतीमा राहत वितरण भइरहेको विवरण सार्वजनिक भइरहेका छन् । विभिन्न संघसंस्था तथा समूहले खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका सामग्री प्रभावित क्षेत्रमा पुर्याएका समाचार पनि सार्वजनिक भएका छन्।
तर बाढीपछि प्रभावित क्षेत्रबाट विस्थापित भएर काठमाडौंलगायत अन्यत्र पुगेका परिवारको अवस्था भने अलग हुन सक्छ ।
यही कारण राहत व्यवस्थापनको प्रश्न अब ‘कति राहत आयो ?’ भन्नेमा मात्रै सीमित रहनु हुँदैन । प्रश्न यो पनि हो– ‘राहत कसका लागि आयो र त्यो वास्तविक पीडितसम्म पुग्यो कि पुगेन ?’
उत्तरगया–बेत्रावतीमा उद्धार तथा राहत पहुँचमा समस्या रहेको गुनासो यसअघि पनि सार्वजनिक भएको थियो । प्रभावित क्षेत्रमा सडक तथा सञ्चार सम्पर्कको समस्याले राहत पुर्याउन कठिनाइ भएको विवरण आएका छन्।
घर फर्कने अवस्था छैन, आश्रय पनि अनिश्चित
बाढीबाट सबैभन्दा ठूलो क्षति भोगेका परिवारका लागि अहिले घर फर्कनु सहज छैन । कतिपय बस्तीमा घर तथा संरचना नै नरहेको अवस्थामा विस्थापित परिवारको तत्कालीन आवश्यकता सुरक्षित अस्थायी बसोबास बनेको छ ।
त्यसमाथि परिवारका सदस्यको मृत्यु भएमा क्रियाकर्मका लागि आवश्यक खर्च जुटाउनु अर्को चुनौती बनेको पीडितहरूले बताएका छन् ।
अर्थात् उनीहरूको समस्या केवल खाना र पानीमा सीमित छैन ।
बस्ने ठाउँ छैन । कमाउने आधार छैन । घरमा फर्कने अवस्था छैन । आफन्त गुमाएका छन् । र, मृत्यु संस्कारसमेत कसरी गर्ने भन्ने चिन्ता छ ।
यस्तो अवस्थामा राहतको परिभाषा पनि फराकिलो हुनुपर्ने देखिन्छ ।
‘पहिले बाँच्न देऊ, त्यसपछि पुनःस्थापनाको कुरा गरौँ’
विपद् व्यवस्थापनमा राहतको पहिलो उद्देश्य मानिसलाई तत्काल सुरक्षित राख्नु हो । त्यसपछि मात्रै पुनःस्थापना र पुनर्निर्माणको चरण आउँछ ।
तर काठमाडौंमा आश्रय लिइरहेका उत्तरगया–बेत्रावतीका पीडितको आवाजले अहिले पनि उनीहरू पहिलो चरणमै रहेको संकेत गर्छ ।
उनीहरूलाई अहिले ठूलो घोषणा वा दीर्घकालीन योजना होइन, पानी चाहिएको छ । खाना चाहिएको छ । रात काट्ने सुरक्षित ठाउँ चाहिएको छ । र, आफन्त गुमाएका परिवारलाई क्रियाकर्म गर्न सहयोग चाहिएको छ ।
त्यसैले राहत वितरणको प्राथमिकता तय गर्दा प्रभावित क्षेत्रमा रहेका परिवारसँगै विस्थापित भएर अन्यत्र आश्रय लिएका परिवारको अवस्थालाई पनि समान रूपमा सम्बोधन गर्नुपर्ने देखिन्छ ।
बाढीले बगाएको घर तत्काल फर्काउन सकिँदैन । गुमेको सम्पत्ति तत्काल फिर्ता गर्न सकिँदैन । तर कम्तीमा पीडितलाई भोकै बस्न नपर्ने र पिउने पानीको अभाव नहुने अवस्था बनाउन सकिन्छ ।
काठमाडौंमा आश्रय लिइरहेका उत्तरगया–बेत्रावतीका बाढीपीडितको पीडाले अहिले यही प्रश्न गरिरहेको छ—
राहत पुगेको भनिन्छ, तर राहतको पर्खाइमा रहेका मानिससम्म त्यो कहिले पुग्छ ?
र उनीहरूको आवाज अझै उस्तै छ—
‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ ।’



प्रतिक्रिया दिनुहोस्