मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने
काठमाडौं, २२ भदौ । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने भएको छ।
प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा शुक्रबार ३ वटै संस्थाले हस्ताक्षर गरेका छन्। योसँगै अब मुक्तिनाथ विकास बैंकले ती दुवै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको छ।
यसैबीच बैंकले धितोपत्र दर्ता गराएका संगठित संस्था एक–आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ बमोजिम आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेको छ।
वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ती प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।
प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्ती सम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण, शेयर आदान–प्रदान सम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ ।
तीन वटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानूनी एवं नियामकीय व्यवस्था अनुरूप अघि बढाउँदै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्