बाढीपहिरो प्रभावितका लागि कांग्रेसद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान
काठमाडौं, २२ भदौं । भोटेकोशी त्रिशूली बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासस्थानको व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले बताए ।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए । बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ पौडेलले भने ।
त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार र भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउनसमेत उनले माग गरेका छन् । साथै पार्टीले राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यसक्रममा पूर्व घोषणा बमोजम आज भाद्र २२ गते पार्टीका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेपाली कांग्रेस भोटेकोशी बाढी विपद् व्यवस्थापन समितिका संयोजक ई.मोहन आचार्य, प्रवक्ता देवराज चालिसे र केन्द्रीय कार्यालयका का.वा.मुख्य सचिव कृष्णप्रसाद दुलाल सम्मिलित प्रतिनिधिमण्डलले नेपाल सरकारका अर्थमन्त्रीलाई भेटी सरकारको कोषमा रू.एक करोड रुपैयाँ जम्मा गरेको छ । गर्दछ ।


प्रतिक्रिया दिनुहोस्