गगनलाई ‘भाई, भतिज’ भनेर हेप्नेहरुको अब बिजोग हुने
काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ‘भाई, भतिज’ भनेर हेप्ने र थापाको बैधानिक अस्तित्व नस्विकार्ने कांग्रेसीहरुको अब बिजोग हुने भएको छ ।
गत पौषमा भएको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएर आए पनि उनको नेतृत्व र अस्तित्व नस्विकार्ने कांग्रेसी नेताहरु अब भनें संकटमा पर्ने भएका छन् । कांग्रेसले असोजमा नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेसको यो कार्यतालिकालाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरले स्विकारेको छैन । उनीहरु देउवा नै अझै पनि कांग्रेसको आधिकारिक सभापति भएको दाबी गर्छन् ।
यतिसम्म कि उनीहरुले काठमाडौंको चुनदेबीमा सम्पर्क कार्यालय खोलेर देउवालाई ‘सभापति’ नै लेखिएको नेमप्लेट राखिदिएका छन् । देउवाले ‘म सभापति होइन’ भनेर त्यो नेमप्लेट हटाउन लगाउनुपर्ने हो तर त्यसो गरेनन्, यसको अर्थ देउवालाई पनि म नै साँच्चै सभापति हुँ भन्ने लागेको हुनसक्छ ।
कांग्रेसको आधिकारिताको बिबाद सर्वोच्च अदालतसम्म पुगेको छ । यसअघिदेखि नै यो विषय विवादित थियो । गत वैशाख ४ गते सर्वोच्चले थापालाई आधिकारिक कांग्रेसको मान्यता दिएपछि देउवापक्ष नराम्ररी बिच्किएको छ । देउवापक्षले अहिले सभापति थापासँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरुले आफूहरुले छुट्टै महाधिवेशन गर्ने तयारी गरेका छन् तर थापाको कांग्रेस नै आधिकारिक भएको सर्वोच्च र निर्वाचन आयोगबाट समेत घोषणा भइसकेकाले उनीहरुले केको महाधिवेशन गर्ने भन्ने पनि अन्यौल छ । कांग्रेसको महाधिवेशनमा आफुपक्षका धेरै नेता जाने डरले नै देउवापक्षले पनि महाधिवेशनको नाटक रच्दै आफ्ना गुटका मान्छेलाई अर्कातिर जानबाट रोक्ने दाउ हुनसक्ने बुझ्नेहरु बताउँछन् । कतिपयले भनें पार्टीका नाम र झण्डा जहाँ हुन्छ आफूहरु त्यहीँ रहने भन्ने गरेका छन् ।
देउवापक्षले नस्विकारे पनि थापा नै अहिले कांग्रेसको सभापति हुन् । उनले महाधिवेशन गराउने भनिसकेपछि पनि अर्कोपक्ष आँट गरेर महाधिवेशनमा जान तयार भएको देखिँदैन । हिजो समयमा नै नियमित महाधिवेशन गर्न पाएको भए देउवाको ‘हालीमुहाली’ चल्ने भएकाले उनले जो मान्छेलाई सभापतिमा उठाए पनि जित्न सजिलो हुने भए पनि अहिलेको अवस्था फरक छ । देउवापक्ष थापासँग प्रतिष्पर्धा गर्न डराएको छ । सभापति थापाले भनें धेरै लचक भएर भए पनि महाधिवेशन गर्न आफूहरु तयार भएको बताउँदै आएका छन् । देउवापक्षले सशांक कोइरालालाई आफूहरुको संयोजक बनाएको छ । उनी पूर्व निर्वाचित महामन्त्री हुन् ।
देउवापक्षमा पुराना नेता बढी छन् । त्यहाँ गगन थापाले राजनीति थाल्नुभन्दा अघि नै राजनीतिमा स्थापित भएका नेता भएकाले पनि गगनको प्रगतिलाई उनीहरु स्विकार्ने पक्षमा छैनन् । अरु धेरै कुरा गर्नुभन्दा पनि उनीहरुले गगनलाई ‘भाई, भतिज’ भएको भनेर टिप्पणी गर्ने गरेका छन् । राजनीतिक रुपमा सिद्धान्तको लडाई गर्नुभन्दा पनि उनीहरु आफ्नो अस्तित्व संकटमा पर्ने भएपछि थापालाई चानचुने र कमजोर देख्न थालेका छन् ।
असहज अवस्थामा विशेष महाधिवेशन गरेर थापाले आफ्नो राजनीतिलाई ‘दाउ’ मा राखेका थिए तर पार्टीका अन्य पक्षको पनि समर्थन पाएपछि विशेष महाधिवेशन पनि सफल भयो र गगन सभापतिमा निर्वाचित भए । आफूलाई पुरानो नेता हुँ भन्ने अरु कसैले पनि विशेष महाधिवेशन गरेर सभापति भएको भए पनि थापाले भन्ने ठाउँ रहँदैनथ्यो तर कसैले पनि आँट गरेनन् ।
छुट्टै पार्टी गठन गर्छु भनेर गगनलाई धम्क्याउनेहरु पनि कांग्रेस छोडेर नयाँ पार्टी बनाउने आँट गर्नेगरीका कोही देखिएका छैनन् अहिलेसम्म । उनीहरुले नयाँ पार्टी बनाउने भनेको धेरै समय नै भइसकेकाले पनि उनीहरुको यो धम्कीमात्रै हो भन्ने स्पष्ट भएको छ । कांग्रेसको नाम बेचेर नै खाइरहेकाहरुका लागि भनें कांग्रेसको नाम नै जीविकाको स्रोत बनेको छ त्यसैले पनि उनीहरु कांग्रेसभित्र नै लडाई गर्नमै व्यस्त छन् । उनीहरुले थापालाई आगामी महाधिवेशनमा सभापतिमा हराउने भनें पनि त्यसका लागि कस्तो योजना बनाउने भन्नेमा नै अन्यौलमा छन् ।


प्रतिक्रिया दिनुहोस्