क्षेत्र फेर्दाफेर्दै अबको निर्वाचनमा कहाँ पुग्लान् प्रचण्ड ?
गंगा बराल: काठमाडौं, १६ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ निर्वाचन क्षेत्र फेर्दै हिँडिरहेका छन् । उनले केहि निर्वाचन क्षेत्रमा दोहो¥याएर उम्मेदवारी दिए पनि विशेषगरी उनी क्षेत्र फेर्ने नेताकै रुपमा चिनिन्छन् ।
२०६४ सालको संविधानसभाको निर्वाचनपछि उनले निर्वाचन हारेका छैनन् । एउटै निर्वाचनमा दुइवटा क्षेत्रबाट उम्मेदवार बनेर होस् वा जे गरेर भए पनि उनले निर्वाचन जितिरहेका छन् । उनले गत फाल्गुण २१ गते भएको प्रतिनिधिसभाको निर्वाचन पनि जिते । पुराना पार्टीका सबैजसो प्रमुख नेताले निर्वाचन हार्दा पनि उनले जितेका हुन् ।
प्रचण्डले २०६४ सालपछि २०७०, २०७४, २०७९ र २०८२ मा भएको संविधानसभाको र प्रतिनिधिसभाको निर्वाचन जिते । अन्य क्षेत्रबाट उम्मेदवार हुँदा निर्वाचन जितिँदैन भन्ने बुझेका प्रचण्ड यो निर्वाचनमा रुकुम (पूर्व) पुगे र त्यहाँबाट पनि जिते । उनको पार्टीको नाम अहिले नेकपा हो ।
संसदीय राजनीतिमा आएपछि प्रचण्डका लागि यो पाँचौं निर्वाचन थियो । २०६४ सालमा भएको पहिलो संविधानसभामा रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवार बनेका प्रचण्ड दुवै क्षेत्रबाट विजयी भएका थिए । त्यतिबेला २ सय ४० वटा निर्वाचनक्षेत्रमध्ये नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० ले १ सय २० क्षेत्र जितेको थियो ।
२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा प्रचण्ड काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवार बने । यो निर्वाचनमा उनी काठमाडौंबाट पराजित भए भने सिराहाबाट झिनो मतले विजयी भए ।
काठमाडौैं–१० मा उनी दोहो¥याएर उम्मेदवार भए । उनले हार्ने निश्चित भएपछि मतगणनालाई प्रभावित बनाएर अन्तिममा उनले जितेको घोषणा गरिएको थियो । यो विषयलाई लिएर धेरैले विभिन्न टिप्पणी गरेका छन् । सिराहाको परिणाम आउनुभन्दा अघि नै काठमाडौंको परिणाम आइसकेको थियो ।
२०७४ सालको निर्वाचनमा प्रचण्ड चितवन–३ बाट उम्मेदवार बनेका थिए । यो क्षेत्रसमेत पर्ने भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेणु दाहाल मेयर थिइन् । वैशाखमा स्थानीय तहको निर्वाचनबाट रेणु मेयर बनेकी थिइन् भनें संसदीय निर्वाचन मंसिरमा भएको थियो, त्यसो हुँदा पनि प्रचण्डलाई सजिलो भयो । यसपटक रेणु चितवन–३ बाट नै प्रतिनिधिसभाको निर्वाचनमा पराजित भइन् ।
२०७४ सालमा नेकपा एमाले र प्रचण्ड नेतृत्वको माओवादीले साझा उम्मेदवार बनाएका थिए । उनीहरु फरक फरक पार्टीको नाममा उठेका थिए, चुनाव चिन्ह पनि आफ्नै पार्टीको थियो । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर प्रचण्ड चितवनबाट विजयी भए । २०७९ सालको निर्वाचनमा कांग्रेसको समर्थन लिएर प्रचण्ड गोरखा–२ मा उम्मेदवार बनेका थिए । उनी त्योबेला पनि विजयी भए ।
प्रचण्ड यो प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षित क्षेत्र खोज्दै रूकुम ९पूर्व० पुगे । प्रचण्डका लागि आधार इलाकाजस्तै हो यो क्षेत्र । यसअघिका भएका चारवटा निर्वाचनमा त्यहाँबाट माओवादीले जितेको थियो । २०७२ सालमा संविधान जारी भएसँगै रूकुम विभाजन भएको थियो । पूर्वी रूकुम लुम्बिनी प्रदेशमा पर्छ भने पश्चिम रूकुम कर्णाली प्रदेशमा पर्छ ।
प्रचण्ड रुकुम (पूर्व) का मतदाता होइनन् । उनले यो निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा उनको मतदाता नामावली रहेको छ । चितवन बारम्बार गए पनि प्रचण्ड निर्वाचन जितेको अरु क्षेत्रमा भनें प्रायः जाँदैनन् । निर्वाचन जितेपछि नेता आएनन् भन्ने आरोप उनले पनि खेप्दै आएका छन् ।
अबको अर्को निर्वाचनमा प्रचण्ड रुकुम ९पूर्व० बाट नै उम्मेदवार बन्छन् कि बन्दैनन् भन्ने विषय गम्भीर रहेको छ । हुन त यो क्षेत्र माओवादीको आधार इलाका नै हो । उनले जतिपटक जहाँ गएर उम्मेदवारी दिए त्यहाँका जनतालाई फकाएर आफ्नो पक्षमा पार्ने गरेका छन् ।
लेखक बराल समसामयिक विषयमा कलम चलाउँछन् ।


प्रतिक्रिया दिनुहोस्