संसदमा एक्लै भए प्रचण्ड
काठमाडौं, १५ भदौं । प्रतिनिधिसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ढ’ एक्लो भएका छन् ।
संसदमा उनीजस्तै पूर्वप्रधानमन्त्री कोही पनि छैनन् । पटकपटक प्रधानमन्त्री भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभाको निर्वाचन हारे । त्यस्तै पाँचपटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपटकको निर्वाचनमा उम्मेदवार भएनन् । उनले डडेलधुराबाट संविधानसभा र प्रतिनिधिसभा गरी ७ पटकसम्म निर्वाचन जितेका थिए । प्रचण्ड यसपटक रुकुम पूर्वबाट निर्वाचित भएका हुन् ।
पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, सुशीला कार्की उम्मेदवार नै भएनन् । कार्की नेतृत्वको सरकारले नै निर्वाचन गराएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्ढै दुईतिहाई सिट जितेको छ । रास्वपाका नेता बालेन्द्र शाह अहिले प्रधानमन्त्री रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्