किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद हाँसि हाँसि छाडेको हुँ: सभापति रवि लामिछाने

काठमाडौं, ७ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति रवि लामिछानेले आफूले हाँसि हाँसि किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको बताउँदै नेता कार्यकर्ताहरूलाई आवश्यक पर्दा त्याग गर्न तयार रहनुपर्ने बताएका छन् ।

आइतबार पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘केही गर्न सकिँदैन भने पनि नराम्रो केही नगर्न सकिन्छ,’ उनले भने, ‘हिजो दोष लगाउने कयौं नेता थिए । आज कसलाई देखाउने ?’

यसअघि आफू २१ सिटको दलको नेतृत्व लिएको बेलामा आफ्नो मात्रै हस्ताक्षर गर्न बाँकी राखेर किस्तीमा प्रधानमन्त्री पद पाएको तर आफूले त्यसलाई वास्ता नगरेको उनको भनाइ छ ।

‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री बन्नका निम्ति मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो । भइदिउँ न त भन्दा त्यति धेरै गाह्रो पनि थिएन । त्यतिखेर एउटै चिज दिमागमा आयो, यत्रो आन्दोलन, यत्रो आशा, भरोसा कहाँ जान्छ रु म भइ नै हालेको भए, दुई, चार महिनाको प्रधानमन्त्री हुन्थेँ होला,’ सभापति लामिछानेले भने, ‘धेरै नै भए सिंहदरबारमा एउटा तस्वीर सम्म टाँसिन्थ्यो होला । तर, देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रा होनाहार युवा कुरेर बसेको थियो, त्यतिखेर साँच्चै मलाई त्यो महसुस भएको थियो ।’

सभापति लामिछानेले थप व्याख्या गर्दै भने, ‘म यहाँ गर्वका साथ भन्न सक्छु, हाँसि हाँसि किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हो । मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो ।’

 

प्रतिक्रिया दिनुहोस्