अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस्: सभापति लामिछाने
काठमाडौं, ३ भदौ । संसदमा सांसदका गतिविधिहरू अमर्यादित र मन्त्रीहरूसँगै पनि असमझदारी बढ्न थालेपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले दुवैलाईसँगै राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन् ।
सदनमा नियमित हुनै पर्छ, संसद् नियमावली आफैं बनाउने, पास गर्ने अनि पालना नगर्ने भन्ने हुन्न’ सभापति लामिछानेले बैठकमा भने,’अमर्यादित गतिविधि गरेर ‘रमिता’ नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ।’
संसदीय दलका नेता तथा प्रधानमन्त्री बानेन्द्र शाह अनुपस्थित भएकाले बुधबार सांसद र मन्त्रीहरूसँग सभापतिको तर्फबाट सभापति लामिछानेले छलफल गर्दै संसदीय दलमा भएका सबै उपस्थित बैठकमा लामिछाने कडा निर्देशन दिएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति लामिछानेले मन्त्रीहरूका काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था बनेकाले अब कार्यशैली फेर्न निर्देशन दिएका छन् । उनले कार्यशैली फेर्ने र अमर्यादित व्यवहार नदेखाउन आग्रह गरेका छन् ।
पार्टीकै मन्त्रीहरूले सांसदका कुरा नसुनेको भन्दै संसद्मै असमझदारी सिर्जना भइरहेको छ । मन्त्री र सांसदहरूबीच सवाल जवाफ हुने अवस्था समेत रास्वपामा देखिएको छ । आजको बैठकमा यो कुरा पनि उठेपछि सभापति लामिछानेले मन्त्रीहरूलाई लेख्ने प्रश्नको आफूलाई पनि बोधार्थ दिन निर्देश गरेका छन् ।
‘सभापतिलाई बोधार्थ दिएर मन्त्रीहरुलाई प्रश्न लेख्नुस् । म पनि अध्ययन गर्छु’ बैठकमा सभापति लामिछानेले भनेका थिए,’ सांसदहरूलाई जनताको प्रश्न छ। सांसदहरूको प्रश्न मन्त्रीलाई छ। सांसद, दल र सरकारबीचको समन्वय अझ प्रगाढ बनाऔं ।
उनले सांसदहरूका आचरण र मर्यादाहरूमाथि पनि प्रश्न गर्दै सदनको उपस्थिति लगायतका विषयमा समेत निर्देशन दिए । सांसदहरुले मर्यादाहीन ढंगले बोल्ने, संसद्को बैठक बंक गरेर हिँड्ने लगायतका गतिविधि हुन थालेपछि सभापति लामिछानेले त्यतातर्फ इंगित गर्दै उनीहरूलाई आचरणमा बस्न ध्यानाकर्षण गराए । उनले अमर्यादित गतिविधि गरेर ‘रमिता’ नदेखाउन चेतावनी दिए ।
राजनीतिक दल बन्न निश्चित समय लाग्ने उल्लेख गर्दै उनले अहिले भएको संरचनालाई राम्रो बनाएर लैजाने उनको धारणा थियो । उनले जे मन लाग्यो त्यही गर्ने र यही पाँच वर्षको लागि मात्र आएको जस्तो गर्ने हो भने त्यस्तालाई ठाउँ नहुने चेतावनी दिए ।
‘लगानी बिना बाटोमा पद भेटे जस्तो लाग्छ भने केही भन्न सकिन्नँ’ सभापति लामिछानेले भने,’राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाई गर्दिन्छु ।’
सांसद र मन्त्रीहरूले आफ्ना गतिविधि पारदर्शी बनाउनु पर्ने उल्लेख गर्दै उनले संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउन निर्देशन दिए ।
‘आरएसपी पल्स’ एपमा गतिविधि अपडेट गर्नुपर्छ। सांसद र मन्त्रीहरूले आफ्ना काम तथा गतिविधिको विवरण नियमित रूपमा एपमा राख्नुपर्छ’ सभापति लामिछानेले भने ।
पार्टी भित्रै आपसी समन्वय र संवाद नभइरहेकोबारे आएको गुनासोलाई पनि उनले सम्बोधन गरे । ‘घमण्ड त्यागेर आपसी समन्वय र संवादमा काम गर्नुपर्छ’ सभापति लामिछानेले बैठकमा भने,’सांसद र मन्त्रीबीच सहकार्य र समन्वय भए मात्रै सरकार प्रभावकारी हुन्छ। एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्नुस् ।
उनले संसदीय भूमिकामा मर्यादित र जिम्मेवार बन्न निर्देशन दिए । राख काम भन्दा पनि प्रचारमुखी गतिविधिमा लागेकोमा पनि सभापति लामिछानेले असन्तुष्टि व्यक्त गरे ।
‘संसद्मा कसरी प्रस्तुत हुने र आफ्नो भूमिकाअनुसार कसरी व्यवहार गर्ने भन्नेमा ध्यान दिनुपर्छ। जनताले परिणाम खोजेका छन्। प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुस्’ सभापति लामिछानेले भने,’अध्ययन र सिकाइमा ध्यान दिनुस् । सांसदहरूले आफूले के गर्न मिल्ने र के गर्न नमिल्ने, सदनमा कसरी प्रस्तुत हुने, सरकार र जनतासँग कसरी प्रस्तुत हुनेबारे अध्ययन तथा विश्लेषण गर्नुपर्छ।’
बैठकले रास्वपा संघीय संसदीय दलको विधान सामयिक संशोधन गर्न कार्यदल कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल र गणेश कार्की रहेको कार्यदल गठन गरेको छ ।
बैठकपछि बाहिर आएर पनि सभापति लामिछानेले धेरै सांसदहरू भएको ठूलो राजनीतिक दलभित्र कुनै विषय बोल्दा कतिपय विषय चिल्पन सक्ला, केही हुनसक्दा भनेर मात्रै यो छलफल भएको बताए ।
‘हामी धेरै छौं, धेरैले धेरै कुरा गर्दा एक दुई जना साथीहरू बोल्दा केही विषय विवादमा पर्छ, त्यसलाई हामी सम्हाल्छौं’ सभापति लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्